२०७२।१२।१५
नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७२ चैत १६ गते आफ्नो स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेकोे छ । यस अवसरमा मुलुकभर र संसारभरि छरिएर रहेका नेपाली आमसञ्चारकर्मीहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
 
मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारकोहकहितका लागि अग्रजहरूले सुरु गरेको प्रयासप्रति गौरव महसुस गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि श्रमजीवी पत्रकारको हकहित, लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघ आफ्ना अग्रजहरुले देखाएको मार्गबाट रत्तिभर विचलित नभई अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।
 
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको छ । यसलाई नयाँ नेपाल निर्माणको अवसरको रूपमा लिदै मिडिया क्षेत्रबाट सक्दो व्यावसायिक अभ्यास गर्न जरुरी छ । यद्यपि संविधान जारी हुने क्रम र तत्पश्चात पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का प्रवृत्ति जारी छ, जसले गर्दा मुलुकमा यतिखेर पत्रकारको भौतिक र पेशागत सुरक्षाको चुनौती गम्भीर छ । महासंघको अनुगमन इकाईका अनुसार वितेको एक वर्षमा १२६ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको पाइन्छ । पत्रकार आक्रमणका दोषी किटान भैसक्दा पनि राज्यले अपराधीमाथि कारबाही गर्न नसक्दा दण्डहीनता मौलाएको छ । जसले गर्दा पत्रकारहरू सेल्फसेन्सरसिपको मारमा परेका छन् । यस्तो प्रवृत्तिको अन्त्यका लागि म सम्बन्धित सबैमा अपील गर्दछु ।
 
यस्तै श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था नाजुक छ । ऐनको प्रभावकारी कार्यान्वयनका निम्ति महासंघले विभिन्न चरणमा निजी र सरकारी सञ्चारमाध्यमको व्यवस्थापन पक्षका साथै सरकार र व्यवस्थापिका संसदसँगसमेत संवाद र दवावका कार्यक्रम गरिरहेको छ । महासंघ सबै निजी तथा सरकारी सञ्चारमाध्यमका व्यवस्थापन पक्ष र सकारसँग श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा गम्भीर हुन पुनः आग्रह गर्दछ ।
 
अन्तमा स्थापना दिवसका अवसरमा चैत्र १६ गते महासंघले काठमाडौको भृकुटीमण्डपबाट शान्तिबाटिकासम्म विहान ७ः०० बजे प्रभातफेरीको आयोजना गरेको जानकारी गराउँदै सहभागिताका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील अगुवा संघसंगठनको नेतृत्वलाई हार्दिक आमन्त्रण गर्दछु । साथै, स्थापना दिवसकै अवसरमा चैत १७ गते दशरथ रंगशालामा नेपाल पत्रकार महासंघको आयोजनामा पत्रकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फूटबलका आयोजना गरेको पनि जानकारी गराउँदछु ।
 
स्थापना दिवसको पूर्वसन्ध्यामा म सम्पूर्ण नेपाली सञ्चारकर्मीहरूमा पुनः हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दै यस दिनले नेपाली पत्रकारहरूलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरित गरोस् भन्ने कामना पनि गर्दछु । त्यसका लागि जुनसुकै कठिन परिस्थितिको सामना गर्न महासंघ सदैव तपाईँहरूको साथमा रहने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।
 
 
डा. महेन्द्र विष्ट
अध्यक्ष
Prabhat ChalauneEvents
२०७२।१२।१५नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७२ चैत १६ गते आफ्नो स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेकोे छ । यस अवसरमा मुलुकभर र संसारभरि छरिएर रहेका नेपाली आमसञ्चारकर्मीहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।  मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी...