पत्रकार सुभक महतोलाई अज्ञात व्यक्तिले ह्वाट्सप नम्बरबाट फोन गरी ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण


२०८१ साउन ३०

मिति : २०८१।०४।२७

समाचारको विषयलाई लिएर नेपाल ग्राउण्ड जिरो डटकम अनलाइनमा कार्यरत पत्रकार सुभक महतोलाई अज्ञात व्यक्तिले ह्वाट्सप नम्बरबाट फोन गरी स्तरहीन गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पत्रकार महतोले नेपाल पत्रकार महासंघमा दिनुभएको निवेदनअनुसार २०८१ साउन २६ गते शनिबार बिहान १०ः४९ बजे र आइतबार बिहान ११ः०१ बजे १ (६७८) ५२३–६५६९ नम्बरको ह्वाट्सपबाट फोन गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल नागरिक उड्डयन प्राधिकरणका बारेमा समाचार नलेख्न दबाब दिँदै स्तरहीन गालीगलौज गर्दै आफू र आफ्नो परिवारसमेतलाई ज्यानमार्ने धम्की दिएको जनाइएको छ ।

उक्त अनलाइनमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचार र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको अनियमिततासम्बन्धी प्रमाणसहित निरन्तर समाचार प्रकाशन गरेपछि यस किसिमको धम्की आएको पत्रकार महतोको निवदेनमा उल्लेख छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनोसो भए त्यसउपर कानुनी उपचारमा जानसकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्नसकिने प्रावधान हुँदाहुँदै पत्रकार र पत्रकारका परिवारसमेतलाई भौतिक कारबाहीको धम्की दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।

महासंघ प्रेस स्वतन्त्तताविरोधी यस किसिमका त्रसित र आतंकित धम्की दिनेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

May be an image of text