सूचनाको हक र खेलकुद पत्रकारिता विषयमा अन्तरक्रिया आयोजना 

सूचनाको हक र खेलकुद पत्रकारिता विषयमा अन्तरक्रिया आयोजना 



२०७५ आश्विन १९

असोज १९ काठमाडौं । नेपाल पत्रकार महासंघ, मिडिया कन्टेन्ट समितिले “सूचनाको हक र खेलकुद पत्रकारिता” विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
महासंघमा आयोजित कार्यक्रममा सूचना आयोगकी आयुक्त यशोदादेवी तिम्सिनाले राज्यले खेलकुद क्षेत्रमा ठूलो लगानी गरेकोले त्यससँग सम्बन्धित सूचना माग्न पत्रकारलाई आग्रह गर्नुभएको छ । उहाँले जनता सचेत भए भने कठालो समातेर सूचना लिनसक्ने हुनाले जनतालाई सुसूचित गराउन पत्रकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा महासंघका महासचिव रमेश विष्टले कार्यान्वयको हिसाबले जनतालाई सबैभन्दा बढी अधिकार दिएको कानुन भनेकै सूचनाको हक सम्बन्धी कानुन रहेको बताउनुभयो । उहाँले सूचना नदिँदैमा डराउने अवस्था नरहेको भन्दै सूचना आयोगको दयारा बढाउनुपर्ने धारणा राख्नु भयो । 
वरिष्ठ खेलकुद पत्रकार सीताराम अग्रहरीले नेपालको खेलकुद क्षेत्रको विकासमा खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपालको खेलकुद क्षेत्रमा रहेका बेथितिलाई अन्त्य गर्न पत्रकाहरु चनाखो हुनुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रमका संयोजक एवं महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले सूचनाको हकको प्रयोगले खेलकुद पत्रकारिता क्षेत्रमा पारेको प्रभावका बारेमा समिक्षा तथा सुझावका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा खेलकुद क्षेत्रमा क्रियाशील पत्रकारहरुले आफ्नो धारणा राख्नुभएको थियो ।