तेह्र बुँदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय महिला पत्रकार सम्मेलन सम्पन्न  

तेह्र बुँदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय महिला पत्रकार सम्मेलन सम्पन्न  



२०७५ माघ १८

माघ १८, काठमाडाैं । नेपाल पत्रकार महासंघ, केन्द्रिय महिला समितिको आयोजनामा माघ १६ र १७ गते चितवनको पटिहानीमा राष्ट्रिय महिला पत्रकार सम्मेलन सम्पन्न भएको छ । 
सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलाको सशक्तीकरणका निम्ति राज्यले विगतमा गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताउनुभयो । उहाँले समाजमा रहेको विसंगति र विभेदको अन्त्यका लागि महिला पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला पत्रकारहरुलाई काम गर्न सहज नभएको बताउँंदै सबैभन्दा पहिला महिला आर्थिकरुपमा सशक्त, आत्मनिर्भर र स्वावलम्बी बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले अझै पनि मुलुकमा कुसंस्कार र विभेदमा रहेको भन्दै महिला पत्रकारहरुले त्यसतर्फ कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले धेरै भन्दा धेरै महिला पत्रकारहरुलाई नेतृत्वमा ल्याउन महासंले आवश्यक पहल गर्ने बताउनु भयो । 
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले धारणा राख्नुभयो । 
नेपाल पत्रकार महासंघ महिला समिति संयोजक लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष नीतु पण्डित, भरतपुर महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष विष्णुराज महतो, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महिलाहरुको वर्तमान अवस्था, समस्या र समाधान विषयमा बहस तथा छलफल गरिएको थियो ।  कार्यक्रममा अगुवा पत्रकार महिला एवं नेपाल पत्रकार महासंघका पूर्व महिला पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिको थियो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान, एसोसियट शाखाामा रहनुभएका महिला उपाध्यक्षहरुको सहभागिता रहेको थियो । 

 

पटिहानी चितवन घोषणा—पत्र २०७५ 
१ सरकारी संचार माध्यम, आयोग, समिति र सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा राज्यले अंगिकार गरेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको तत्काल कार्यान्वयनका लागि जोडदार माग गर्दछौ । 
२.महिलाको क्षमता तथा दक्षता अभिबृद्धिको लागि आधारभूत र बिषयगत तालिमको ब्यबस्था तुरुन्त गरियोस । 
३ पत्रकार महिलाको भौतिक र पेशागत सूरक्षाको सुनिश्चित गर्नुका साथै पेशागत स्थायित्वका लागि उचित वातावरण निर्माण गरियोस् र श्रम ऐनले ब्यवस्था गरेका सुविधाहरु उपलब्ध गराईयोस् ।
४ नेपाल पत्रकार महासंघको बिधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गरी अध्यक्ष वा महासचिव एक जना महिला हुनुपर्नै अनिवार्य ब्यवस्था हुने गरी संशोधन गरियोस् । साथै एक जना महिला उपाध्यक्षको व्यवस्थाका लागिसमेत विधानमा संशोधन गरियोस ।  
५.नेपाल पत्रकार महासंघको केन्द्रिय समितिमा ३३ प्रतिशत महिला सहभागिताका लागि विधानमा व्यवस्था गरियोस । 
६.संचारमाध्यममा आन्तरिक लैंगिक नीति अनिवार्य रुपमा बनाई कार्यान्वयन गरियोस । नीतिगत र नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गरियोस ।
७.आमसंचार नीति र श्रमजिवी पत्रकार ऐन जस्ताको तस्तै कार्यान्वयन हुने बातावरण निर्माणका लागि  नयाँ बन्ने संघ र प्रदेशका कानूनहरु बनाईयोस् ।
८ संचार माध्यमले पत्रकार नियूक्ति र पदोन्नती गर्दा समाबेशी नीति अपनाईयोस् । 
९.केन्द्र र मोफसलमा महिलाद्घारा संचालित छापा तथा बिधूतिय संचार माध्यमलाई स्थायित्व र दिगो ब्यबस्थापन गर्नका लागि स्थानिय, प्रदेश र संघिय सरकारले नीतिगत ब्यबस्था गर्नका लागि जोडदार माग गर्दछ । 
१०.नेपाल पत्रकार महासंघले घोषणा गरेको राष्ट्रिय स्तरको आम संचार प्रतिष्ठान चितवनमा निर्माण गर्नका लागि तुरुन्त पहल गरियोस । 
११.पत्रकार महिलाका बिशेष अबस्थालाई मध्यनजर गर्दै संचार माध्यममा शिशु स्याहार केन्द्रको अनिवार्य ब्यवस्था गरियोस । 
१२.सरकारले ब्यबस्था गरेको सुत्केरी बिदालाई पाँच महिना पुर्याउने गरी नितीगत निर्णय गर्नुपर्ने र सो विषयमा ठोस निर्णय न हुँदासम्म भएको व्यवस्थालाई कार्यव्नयन गर्नु पर्ने । यि बिदाका कारण उसको पद यथावत रुपमै कायम हुनुपर्नै र उसको पदोन्नतीमा यस बिदाको कारण बाधा अबरोध  नपुराईयोस् ।
१३. नेपाल सरकारले पहिचान गरेको नयाँ पर्यटकिय गन्तब्यमा पश्चिम चितवनको पटिहानी समेत परेकोमा स्वागत गर्दै पटिहानी लगायत पश्चिम चितवनको पर्या पर्यटनलाई लैंगिकमैत्री बनाउदै विकास गर्न नेपाल सरकारले थप योजना ल्याउन यो भेला माग गर्दछ ।