पत्रकार रिहाईका लागि महासंघद्धारा सर्वोच्चमा रिट

पत्रकार रिहाईका लागि महासंघद्धारा सर्वोच्चमा रिट



२०७५ चैत्र २९

काठमाडौं, २९ चैत्र । न्हुगु ज्वजोलोप्पा पत्रिकाका प्रधानसम्पादक जितेन्द्र महर्जनको रिहाईका लागि नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको छ ।
महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले शुक्रवार नेवाः भाषाको सो पत्रिकाका प्रधानसम्पादक महर्जनको गिरफ्तारी गैरकानूनी र संविधान विरुद्ध भन्दै बिनाशर्त रिहाईका लागि रिट दायर गर्नुभएको हो । 
चैत २६ गते दिउसो किर्तिपुरस्थित पत्रिकाको कार्यालयमा समाचार सम्पादन गरिरहेका बेला प्रधान सम्पादक महर्जनलाई प्रहरीले गिरफ्तार गरी काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिएको थियो । 
‘पत्रकारलाई गिरफ्तार गर्नु गैरकानुनी मात्र हैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हो, रिट दायर गर्नुपर्ने कारण खोल्दै केन्द्रीय सदस्य जन्मदेव जैसीले  ‘यसअघि पनि अनाहकमा पत्रकारहरु पक्राउ परे, समग्र पत्रकारको रक्षा गर्ने संस्था महासंघको तर्फबाट मलाई अख्तियारी दिएपछि रिट हालेको बताउनुभयो । 

एकवर्ष अघि पनि जलजला मासिकका प्रधानसम्पादका खेम थपलिया, पत्रकार दिपेश शाहीलगायतका पत्रकारहरु पक्राउ पर्दा महासंघले पक्राउ गरिएका सबै पत्रकाहरुको पक्षमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्दा उहाँहरु रिहा हुनुभएको थियो । 

केही दिनअघि मात्र कालिकोटमा रेडियो पत्रकार कर्ण विक र क्रान्तिकारी पत्रकार संगठन, नेपालका सचिव राजेन्द्र अघिकारी पनि प्रहरीले गिरफ्तार गरेकाे थियो । नेपाल पत्रकार महासंघ, लगायत विभिन्न संगठनको दवावका कारण उहाँहरु रिहा हुनुभएको थियो ।