“बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार” र “बालसंवेदनशील सामुदायीक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार” वितरण

“बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार” र “बालसंवेदनशील सामुदायीक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार”  वितरण



२०७६ आषाढ २९

नेपाल पत्रकार महासंघ र सामुदायीक रेडियो प्रसारक संघ नेपाल एवम् केन्द्रीय बालकल्याण समितिको सहकार्यमा “बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार” र “बालसंवेदनशील सामुदायीक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार” आज प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय थममाया थापाले विभिन्न विधाका पुरस्कारहरु वितरण गर्नुभएको हो ।


विगत तीन वर्षदेखि प्रदान गर्दै आएको उक्त पुरस्कारमा छापा पत्रकारितातर्फ उपत्यकाबाट प्रकाश सिलवाल र हिमाल लम्साल संयुक्त रुपमा पुरस्कृत हुनुभयो भने उपत्यका बाहिरबाट खगेन्द्र अधिकारी पुरस्कृत हुनुभएको छ । त्यसैगरी रेडियो पत्रकारितातर्फ रमाकुमारी खड्का र रुमा रिजाल, टेलिभिजन पत्रकारितातर्फ धनविर दाहाल, कोपिला पोखरेल र धनमाया भुषाल तथा बाल कार्यक्रम प्रस्तोतातर्फबाट शोभिता रिसाल र शर्मिला खनाल पुरस्कृत हुनुभएको छ । 
त्यसैगरी सामुदायीक रेडियो प्रसारक संघ नेपाल र समितिको सहकार्यमा वितरण गरिएको पुरस्कारबाट रेडियो बाजुरा पुरस्कृत भएको छ । 
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै मन्त्री थापाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै यसका लागि सञ्चार क्षेत्रले खेलेको भूमिकाको सह्राना गर्नुभयो । उहाँले यस्तो पुरस्कारले पत्रकारहरुलाई बालबालिकाका मुद्दाहरु उजागर गर्न प्रोत्साहित गर्ने भएकाले नेपाल पत्रकार महासंघ, सामुदायीक रेडियो प्रसारक संघ र केन्द्रीय बालकल्याण समितिले वार्षिक रुपमा यो पुरस्कार प्रदान गर्ने गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । 
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुलाई सामाजिक विषयहरुमा लेख्नलाई प्रोत्साहित गर्ने उद्देश्यले महासंघले यस्ता पुरस्कारहरु वितरण गर्ने निर्णय गरेको बताउनु भयो । महासंघले सिमित निकाय र संस्थाहरुसँग मात्र सहकार्य गरी पुरस्कारहरु वितरण गर्ने गरेको पनि उहाँले बताउनु भयो ।
सामुदायीक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुभाष खतिवडाले बाल अधिकार प्रवद्र्धन र सुनिश्चिततामा सामुदायीक रेडियोहरुले खेलेको भूमिका स्मरण गर्दै यस्तो पुरस्कारले सामुदायीक रेडियोहरुको हौसला बढाउने विचार व्यक्त गर्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले बाल अधिकार रक्षाका लागि मिडिया क्षेत्रको अहम भूमिका रहने बताउँदै यसका लागि पत्रकारहरुलाई थप प्रोत्साहित गर्नुपर्ने बताउनु भयो ।


त्यसैगरी पुरस्कृत पत्रकारहरुकातर्फबाट छापा पत्रकारितातर्फ पुरस्कृत खगेन्द्र अधिकारी र बाल कार्यक्रम प्रस्तोतातर्फ पुरस्कृत शोभिता रिसालले प्राप्त पुरस्कारले आगामी दिनमा पनि बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्न थप उर्जा मिलेको बताउनुभयो । त्यसैगरी महासंघका सचिव प्रकाश थापाले बालसंवेदनशील विषयमा पत्रकारिता गर्ने पत्रकारहरुलाई थप प्रोत्साहनका लागि पुरस्कारका विधाहरु बढाउनु पर्ने बताउँदै आगमी दिनमा अनलाइन विधा पनि समेट्न जोड दिनुभयो ।