पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) जारी

पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) जारी



२०७६ आश्विन ०६

असाेज ६, काठमाडाैं । पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) आजदेखि जारी भएको छ । आज प्रेस काउन्सिल नेपालमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) जारी भएको घोषणा गर्नुभएको हो । सञ्चार क्षेत्रको नयाँ परिवेश अनुरुप आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्धेश्यअनुरुप सरोकारवाला संघ, संगठन पत्रकारहरुसंग चरण चरणको छलफल, अन्तक्र्रिया र प्राप्त रायसुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको बताइएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हाल संशोधन गरेर जारी भएको आचारसंहिता पत्रकार तथा सञ्चार माध्यमहरुले पालना गरे आगामी दिनमा बन्ने प्रेस सम्बन्धी कानून नरम बन्नसक्ने तर्क राख्नुभयो । उहाँले यो आचारसंहिताले पत्रकारको स्वनियमन तथा हाल अभ्यासमा रहेका सञ्चारका सबै माध्यमलाई समेटिएको हुदाँ त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । साथै उहाँले पत्रकार महासंघको सहमतिमा बनेको यो आचारसंहिता कार्यान्वयनकालागि सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । सो अवसरमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा प्रविधिमा भएको तिब्रत्तर विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको बताउनुभयो । उहाँले पत्रकारहरुकै कमीकमजोरीको कारण धेरै प्रकारका कानुन बनेको बताउदै सबै सञ्चारकर्मी मर्यादित बन्न जरुरी रहेको उल्लेख गर्नुभयो । त्यसैगरी काउन्सिलका सदस्य गोपाल बुढाथाकीले विभिन्न चरणमा छलफल पश्चात सहमतीमा पुगेर तयार पारिएको आचारसंहिता सञ्चारकर्मीलाई मर्यादित बन्ने कोशेढुंगा सावित हुने बताउनुभयो । त्यसैगरी पत्रकार महासंघका सचिव एवम् आचारसंहिता अनुगमन समितिका संयोजक प्रकाश थापाले सञ्चार माध्यमहरुको विकाससंगै आएको परिवर्तनलाई समेत समेटेर आचारसंहिता संशोधन भएको र पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका निम्ति सधै सत्य तथ्य सूचना प्रवाह गर्न आचारसंहिता कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

 डाउनलोड गर्नुहोस्