भदाै ११, काठमाडाैं । नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।
महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउदै यस्तो अल्टिमेटम दिएको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हाल अवरूद्ध अनलाइन दर्ता र नविकरण सुचारु नभए महासंघ आन्दोलनमा उत्रने उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन संचारमाध्यमलाई परेको असहजता अन्त्य गर्न संक्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिनुभयो ।
मन्त्रालयकी सचिव राधिका अर्यालले पनि संचारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताउनु भयो ।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था पछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध छ ।
ज्ञापनपत्र बुझाउन उपाध्यक्ष उमिद बागचन्द, सचिवहरु सोनी शर्मा र प्रकाश धौलाकोटी केन्द्रीय सदस्यहरू रामेश्वर कार्की, उर्जुन पन्त, मनुका कुवँर, पवित्रा मुडभरी, राजकरण महतो, भुपराज बस्याल, लगायतको उपिस्थत रहेको थियो ।
मिति :२०८२/०५/११
माननीय मन्त्रीज्यू
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सिंहदरबार, काठमाडौं ।
विषय : ज्ञापन पत्र ।
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था भएपछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनमा गम्भीर असर परेको अवगत गराउँदछौँ ।
उक्त कानुनमा संशोधनको सूचना २०८२ साउन १४ गते राजपत्रमा प्रकाशित भएपछि सूचना तथा प्रशारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको सेवा बन्द गरेको छ । यसबाट संघीय सरकारअन्तर्गत दर्ता भएका ४ हजार ५ सय भन्दा बढी अनलाइन सञ्चारमाध्यमहरू नवीकरण नभएका कारण चाडपर्वको मुखमा विज्ञापन सम्बन्धी कारोबारमा असहजता सिर्जना भएको छ । श्रमजीवी पत्रकारहरूले प्रेस प्रतिनिधि प्रमाण पत्र प्राप्त गर्न सकेका छैनन् । जसका कारण दैनिक समाचार संकलनमा समेत प्रभाव परेको छ । अर्कोतर्फ सञ्चारमाध्यम दर्ता रोकिँदा नागरिकको संवैधानिक हक समेत अवरुद्ध हुन पुगेको छ ।
नयाँ कानुनी व्यवस्थाका कारण अनलाइन सञ्चारमाध्यमहरू दर्ता, नवीकरण, सञ्चालनका साथै पत्रकारिता गर्न समेत समस्या भइरहेको तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छौँ ।
अतः अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणका सन्दर्भमा ७२ घण्टाभित्र पूर्ववत् व्यवस्था गरी सेवा सुचारु गर्ने आवश्यक प्रबन्ध गर्न र अनलाइन सञ्चारमाध्यमहरूको दर्ता, नवीकरण, लोककल्याणकारी विज्ञापनको वितरण र वर्गीकरणका सम्बन्धमा समेत दीर्घकालीन सहज व्यवस्था मिलाउन महासंघ माग गर्दछ । अन्यथा नेपाल पत्रकार महासंघ आन्दोलित हुन बाध्य हुने जानकारी पनि गराइन्छ ।
रामप्रसाद दाहाल
महासचिव