छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



२०७४ आश्विन ३१

नेपाल पत्रकार महासंघले महासंघको बैदेशिक शाखाका पदाधिकारी/सदस्य तथा प्रवासमा रहेर पत्रकारिता गरिरहेका विभिन्न देशबाट आएका पत्रकारहरूसँग आज छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । 
महासंघ केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रवासी पत्रकारलाई आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न आग्रह गर्नुभयो । कानूनको पालना गर्दागर्दै समस्या आइपरेमा महासंघ सहयोग गर्न तयार रहेको बताउँदै उहाँले महासंघको आन्तरिक विकासका लागि बैदेशिक शाखाको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । 
कार्यक्रममा महासंघका पूर्वसभापति हरिहर विरहीले कार्यक्रम आयोजना गरेकोमा महासंघलाई धन्यबाद व्यक्त गर्दै अन्य पेशाका तुलनामा पत्रकारिता पेशा पछाडि रहेको बताउदै बैदेशिक शाखामा रहेका पत्रकारहरुले आफ्नो पेशालाई उपलब्धिमूलक बनाउन नेपालका मुद्दा तथा नेपालको समुन्नतिलाई विश्वसामु उजागर गर्न आग्रह गर्नु भयो । 
त्यसैगरी महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले आयोजक महासंघलाई धन्यबाद दिँदै विदेशमा रहेर पत्रकारिता गरिरहेका विभिन्न बैदेशिक शाखाका पत्रकारहरुको प्रशंसा गर्दै पत्रकारिताको विकासका लागि मर्यादित र जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनु भयो ।  
महासंघका महासचिव रमेश विष्टले नेपाल पत्रकार महासंघ आगामी दिनहरुमा आफ्ना शाखाहरुमार्फत लिनेभन्दा दिने अभिलासाका साथ अघि बढ्ने विचार राख्नु भयो । उहाँले बैदेशिक शाखाका समस्यालाई महासंघको आगामी केन्द्रीय समितिको बैठकबाटै छलफल गरेर अझ प्रभावकारी तथा व्यवस्थित गरिने बताउनु भयो । 
कार्यक्रममा महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, सदस्य आनन्द कोइराला, कुवेत शाखाका सहसचिव गाेपाल परियार, बेलायत शाखाका पूर्वअध्यक्ष चिरन शर्मा, अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने पत्रकार हेमन्त काफ्ले, अमेरिकाबाट प्रतिनिधित्व गर्ने पत्रकार होमप्रसाद लम्साल, यूरोप शाखाका ओम शर्मा, यूएई शाखाका उपाध्यक्ष निमेश गिरीलगायतले कार्यक्षेत्रका समस्या, चुनौती र अनुभवहरू राख्नु भएको थियो ।