सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक

२०७५।०१।२९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा मुस्ताङ भ्रमण तथा मुक्तिनाथको दर्शनका क्रममा र काठमाडौं महानगरपालिकाद्वारा गरिएको अभिनन्दन समारोहमा सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी आज विहान पर्यटकीय जिल्ला मुस्ताङको भ्रमण एवं मुक्तिनाथको दर्शनका क्रममा र आजै दिउँसो काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रियसभा गृहमा गरिएको अभिनन्दन समारोहको समाचार संकलनका क्रममा सञ्चारमाध्यमलाई रोक लगाइएको थियो ।

मोदी भ्रमणको समाचार संकलनका लागि पर्यटन मन्त्रालयले सञ्चारमाध्यमलाई विशेष पासको व्यवस्था गरेको भए पनि ती पास लिएका सञ्चामाध्यमलाई पनि समाचार संकलन रोक लगाइएको थियो । यो घटनाले सरकार प्रेसमाथि कति उदार छ भन्ने थप प्रष्ट्याएको छ ।

नागरिकलाई सुसूचित गराउने संवैधानिक जिम्मेवारी वहन गर्न खटिएका सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउनु र अवरोध सृजना गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । यो घटनाले प्रेस र नागरिकको सुसूचित हुने कानुनी तथा संविधानप्रदत्त अधिकारमाथि आघात पुगेको महासंघ ठहर छ । महासंघ यो घटनाको कडा भत्र्सना गर्दछ र प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्