समाचारकाे विषयमा सम्पादक गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७६/१/२

नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य तथा ताण्डब न्यूजडटकम (साप्ताहिक) का सम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

समाचार प्रकाशन गरेको विषयलाई लिएर स्थानीय बिपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले सम्पादक गिरीलाई आज बिहान करिब ११ बजेतिर पोखराबाट पक्राउ गरेको हो । समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्राबधानलाई लत्याउदै पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तीजनक छ । 

पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको महासंघको ठहर छ । महासंघ सम्पादक गिरीलाई तत्काल रिहाईको माग गर्दै प्रहरीको यस्तो ज्यादतीको घोर भत्र्सना गर्दछ । साथै, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्र्भीकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ । 

समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल रोक्न महासंघ जोडदार माग गर्दछ । अन्यथा, महासंघ कठोर संघर्षमा उत्रन बाध्य हुनेछ ।  

रमेश विष्ट

महासचिव 

 डाउनलोड गर्नुहोस्