वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति : २०७६।०१।०४

नेपाल पत्रकार महासंघका सदस्य तथा कामना न्यूज पब्लिकेसन्स प्रा. लि. का प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा आज विहान ११ः५९ बजे उपचारको क्रममा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । 
करिव ५ महिनाअघि नाकमा समस्या आएपछि राजधानीस्थित ब्लुक्रस अस्पतालमा नाक र लगत्तै मृगौलाको पत्थरीको शल्यक्रिया गरिएका श्रेष्ठको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि भारतको मेदान्त अस्पताल हुँदै पछिल्लो समय काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको थियो ।
विक्रम सम्वत २०१६ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठ कामना ग्रुप अफ पब्लिकेसन्स, नेपाल मिडिया सोसाइटी, इन्टर नेसलन प्रेस इन्ष्टिच्यूटअन्तर्गत नेपाल नेसनल कमिटीलगायतका संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँले नेपाल प्रेस इन्ष्टिच्यूट, इडिटर सोसाइटी नेपाल, नेपाल प्रेस क्लव, नेपाल सार्क जर्नालिष्ट फोरमलगातका संस्थामा कार्यकारी सदस्य भई काम गर्नुभएको थियो । २०६१ प्रेस काउन्सिल नेपालका सदस्य र २०५२ देखि २०५३ सालसम्म राष्ट्रिय समाचार समितिको सदस्य भई काम गरेका श्रेष्ठ लामो समयदेखि नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक हुनुहुन्थ्यो ।
श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी, व्यावसायिक र सक्रिय पत्रकारलाई गुमाएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्