पत्रकारमाथि भएकाे दुर्व्यवहार र धम्किकाे घटनाप्रति नेपाल पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण

मितिः२०७८।०१।०८

 

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव एवं अन्नपूर्ण पोष्ट व्यूरो सहइन्चार्ज राजकरण महतोमाथि प्रहरीले गरेको दुव्र्यवहार र आक्रमणका घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ महोत्तरी शाखाका अनुसार वैशाख ७ गते मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय गौशालामा कपाली तमसुकको विषयमा दुई पक्षबीच भएको कुटपिटको भिडियो खिँचिएको भन्दै प्रहरीले मोबाइल खोसेर गालीगलौज र हातपात गर्दै थुन्ने धम्की दिएका थिए ।

नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो व्यवहारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघ प्रहरीको यो ज्यादतीको घोर निन्दा गर्दछ । घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

यसगैरी सोही दिन दिउँसो महासंघ कालिकोट शाखाका सदस्य एवं राजधानी दैनिकका संवाददाता विश्वनाथ सिम्खडालाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कालिकोट शाखाका अनुसार आफूलाई अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ता बताउने व्यक्तिले समाचारको विषयलाई लिएर पत्रकार सिम्खडालाई धम्क्याएका थिए । संप्रेषित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्न सकिने व्यवस्था हुँदाहुँद पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेसविरोधी काम हो ।  महासंघ घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछ ।


रोसन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्