हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित: पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा महासंघकाे अपिल

मितिः २०७८।०१।२०


विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको छ । उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र यतिखेर दोस्रो लहरको कोरोना भाइसरबाट पनि प्रभावित हुन पुगेको खवरले नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी र चिन्तित भएको  छ ।

महासंघमा अभिलेखभएअनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ । संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको छ ।

अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ । यो संवेदनशील घडीमा अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ । महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।
महासंघले गरेको आग्रहअनुसार यतिखेर महासंघका सबै प्रदेश र शाखाहरुले कोभिड १९ कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिता देखाइरहेका छन् । कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ । यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ । सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरुसहित पत्रकारहरुलाई महासंघ अनुरोध गर्दछ ।

साथै, महासंघ कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गर्दछ । र, कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराउँदछ ।


रोशन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्