अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०७८।०२।२७

नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि पोखरास्थित रिजनल अस्पतालमा उपचाररत पत्रकार बास्तोलाको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार पोखराकै चरक अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान ३ः१० बजे निधन भएको हो । स्वर्गीय बास्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

कास्कीको पुरञ्चौरमा जन्मिनु भई हाल पोखरा-५ का स्थायी वासिन्दा पत्रकार बास्तोला विगत चारदशकदेखि पोखरामा रही पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । उहाँले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्युज, आदर्श समाज र स्वतन्त्र सन्देशलगायतमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको छ भने महासंघले जुझारु र सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार बास्तोलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण हालसम्म २० जना पत्रकारको निधन भएको छ भने ९ सय पचासभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूणर् यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूणर् स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्