कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत श्रमजीवी पत्रकार/कर्मचारीलाई सेवाबाट निकालेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०८०।०२।३०

कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत श्रमजीवी पत्रकार/कर्मचारीलाई सेवाबाट निकालेको एवं विभिन्न बहानामा मिडिया छाड्न र हटाउन दबाब दिइरहेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

कान्तिपुर मिडिया गु्रपमा कार्यरत रहेका र हाल निकालिएका पत्रकार/कर्मचारीमध्ये केही महासंघको सम्पर्कमा आएका र केही पत्रकारको गुनासोसहितका निवेदन नेपाल पत्रकार महासंघलाई प्राप्त भएको छ ।

स्थायी रूपमा काम गरेका पत्रकारलाई सेवासुविधाबिना हटाउने र करार/स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण नगर्ने तथा स्थायी पत्रकारलाई स्ट्रिन्जर बस्न दबाब दिने एवं राजीनामा दिन बाध्य पार्ने जस्ता क्रियाकलाप कान्तिपुर मिडिया गु्रपबाट हुनु दुःखद् हो ।

यस किसिमका गुनासो प्राप्त भएपछि महासंघले तत्कालै यो कार्य रोक्न आग्रहसहित यसअघि नै कान्तिपुर मिडिया ग्रुपलाई पत्राचार गरेको थियो । महासंघले गरेको आग्रहलाई कान्तिपुर मिडिया ग्रुपले बेवास्ता गर्दै श्रमजीवी पत्रकारविरुद्ध काम गरेको छ ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गरेर पत्रकार/कर्मचारीको श्रमको सम्मान गरी सोअनुसार गरिनु पर्नेमा कान्तिपुर मिडिया ग्रुपले अपनाएको यो शैली अत्यन्त असान्दर्भिक र गैरकानुनी रहेको महासंघको ठहर छ ।

महासंघ यसखालका क्रियाकलाप तत्काल रोकी श्रमजीवी पत्रकार ऐनअनुसार गर्न कान्तिपुर मिडिया ग्रुपको ध्यानाकर्षण गराउँदछ । साथै, अन्यायमा परेका श्रमजीवी पत्रकारलाई कानुनी उपचार र दबाबमूलक आन्दोलनका लागि महासंघमा सम्पर्क गर्न आग्रह गरिन्छ ।

रोसन पुरी

महासचिव

May be an image of text