प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध नेपाल प्रहरीमा साइवर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०८०।०४।०५

प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनता टाइम्स डटकमका प्रधानसम्पादक गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट नेपाल प्रहरीमा साइवर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा अध्यक्ष बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको महासंघको ठहर छ । महासंघ अध्यक्ष बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन नेपाल सरकारको गृह प्रशासनसमक्ष जोडदार माग गर्दछ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नसमेत आग्रह गर्दछ ।

महासंघ आम संचारकर्मीहरूमा पत्रकार आचारसंहिताको पालनामा गम्भीर हुनसमेत आहृवान गर्दछ ।

 

गोविन्दप्रसाद चौलागाई

सचिव

 डाउनलोड गर्नुहोस्