दोषीलाई कारबाही गर्न माग
मिति ः २०७४।०९।१६
काठमाडौंबाट सञ्चालित तीब्रखवर डटकम अनलाइनमा चौधरी ग्रुपको विषयमा प्रकाशित समाचारलाई लिएर विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
 
सो अनलाइनका कार्यकारी सम्पादक रोशन कार्कीका अनुसार चौधरी ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने कर, नक्कली भ्याट विलका सम्बन्धमा समाचार प्रकाशित भएपछि टेलिफोनबाट ‘चौधरी ग्रुपले कर नतिर्दा तेरो के जान्छ, तुरुन्त चौधरी ग्रुपको विरुद्ध समाचार लेख्न बन्द गर नत्र भौतिक कारबाही गर्न पछि नपर्ने’ भनी धम्की आएको थियो ।
 
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।
 
................
रमेश विष्ट
महासचिव