बत्तिमुनिको अँध्यारोेः लालपूर्जाविहीन छन् भक्तपुरका रैथाने द्यःलाहरु
मीरा राजभण्डारी अमात्य,
गां गामं दना वा, वस्ति वस्तिं दना वा
थ्व देया ख्वाः हिले त दना वा
आजभन्दा ३६ वर्ष पहिले नेपाल संवत ११०२ मा मे दिवसको सन्दर्भमा श्याम तमोटद्वारा सामाजिक जागरणका लागि ‘गथु’ गीतसंग्रहमा कोरिएका यी भावले समाज भएका विकृति र मजदुरको हक अधिकारका सन्र्दभमा उक्त गीतमार्फत श्रमिक वर्गमा जागरण ल्याउने प्रयास गरेको पाइन्छ । तर, लोकतान्त्रिक गणतन्त्र नेपालका बासिन्दा भइकन पनि सामाजिक रुपान्तरणसहितको नयाँ नेपालको नागरिकमा दरिन नेवार समुदायका द्यःला जातिले कहिले पाउलान् ?
राज्यका हरेक नागरिकले आत्मसम्मान एवं गास, बास र कपासको सुनिश्चततासहित बाँच्न पाउने मानव अधिकार र अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, मानवअधिकार लगायतका दस्तावेजमा उल्लेखित अधिकारको प्रत्याभुति कहिले अनुभूत गर्न पाउलान् ? भक्तपुरका द्यःला जातिहरुको सन्दर्भमा यो प्रश्न निकै पेचिलो छ ।
पुस-माघको कठ्याग्रिँदाे जाडोमा ६५ वर्षीया सानु मै टीनको छानो भएको छाप्रोभित्र कुक्रिँदै पनातिलाई खाजा खुवाउँदै थिइन् । उनको छाप्रो वरपरका केही घर बन्ने क्रममा थिए भने केही बनिसकेका थिए ।
किन घर नबनाएको बोजु भन्दा पुर्जा मरु, दयक विमा काय मरु, थके धेवा मरु अले गथे योङ दयकेगु ? (पूर्जा छैन, बनाइदिने, कमाउने छोरा छैन, कसरी बनाउँ ) भन्दै उनले प्रतिप्रश्न गरिन् ।
धनीपूर्जा नपाई श्रीमानको परमधाम ! भूकम्पको आहत थपियो
सानु मैका श्रीमान् ३४ वर्ष पहिले देखि आफनो थातथलोमा रहेको घरको लालपूर्जा लिन स्थानीय निकायदेखि मालपोत अड्डा धाउँदै धाउँदै यस संसारबाट विदा भए । उनी त गए नै, सँगै आफ्नै जीवनकालमा सानु मैलाई जग्गाधनी प्रमाणपूर्जासहितको छानो नचुहिएको एउटा सानो घरमा राख्ने सपना पनि आफूसँगै लिएर गए ।
‘भन्थ्यो, चिन्ता नगर् छोरा छैन भने पनि यो घरको पूर्जा निकालेर राम्रो बनाउँछु, छोरीहरु छन् । तर, पूर्जा पाउने आशामा मन्त्रालय र मालपोतका ढोका चाहार्दै उसको जीवन सक्यो’, बोल्दाबोल्दै रुग्ण बन्यो बृद्धा सानु मैंको स्वर । अनि टल्पलाउँदै आकाशतिर हेरिन् शायद भक्कानो रोक्न ।
अहिले हनुमन्ते खोलाले बाटो फेरिइसकेको छ, खोलामा बग्ने पानी कहिले संङ्लो त कहिले फोहोर हुँदै बग्दै रुप फेर्ने क्रमले निरन्तरता लिएको छ । तर, सदियौंदेखि त्यही हनुमन्ते खोलामा माछा मार्दै र सहरगाउँ सफा गर्दै जीवनयापन गर्ने यी आदिवासी जनजाति नेवार समदायका द्यःलाहरुको जीवनशैलीमा भने कुनै परिवर्तन आएको छैन ।
लालपूर्जाविहीन आफ्नो घर ०७२ सालको भूकम्पले तहस-नहस गरी दिँदा पुनःनिर्माण गर्नलाई उठेका नीतगत तगारा र कठिनाइहरुले हुनसम्मको पीडा भएको छ उनीहरुलाई ।
सानु मै जस्ता सयौं द्यःला समुदायहरु लालपुर्जा नभएकै कारण भूकम्पमा नेपाल सरकारबाट पाउने सहयोगबाट बञ्चित हुनु परेको छ । जम्माजम्मी १२ सय ४९ घरधुरी भएको भक्तपुर नगरपालिकाका ५ नम्बर वडास्थित भेलुखेलका मात्रै ८७ घरधुरीको लालपुर्जा छैन
०७२ साल बैशाखको भूकम्पले उनको जम्माजम्मी दुई पैसामा बनेको घर पुरै भत्कियो । लालपूर्जा नभएकै कारण नेपाल सरकारबाट प्राप्त भएका घर भत्काउन दिएको रकम, जाडोको लुगाका लागि दिएको रकम तथा घर मर्मत तथा पुनः निमार्णका लागि दिने रकमबाटसमेत उनी बञ्चित भइनन् बरु घर निर्माणका लागि दिइने ५० हजार तथा २ लाखसम्मको रकमबाट समेत बञ्चित हुत्तँदै छिन् वृद्धा सानु मै ।
सानु मै जस्ता सयौं द्यःला समुदायहरु लालपुर्जा नभएकै कारण भूकम्पमा नेपाल सरकारबाट पाउने सहयोगबाट बञ्चित हुनु परेको छ । जम्माजम्मी १२ सय ४९ घरधुरी भएको भक्तपुर नगरपालिकाका ५ नम्बर वडास्थित भेलुखेलका मात्रै ८७ घरधुरीको लालपुर्जा छैन ।
यस क्षेत्रका अधिकांश घरहरु भत्केका र केहीले एक तल्ला मात्रै बाँकी राखेर टाउको छोप्नका लागि टालटुलसम्म गरेका छन् । यस क्षेत्रका द्यःलाहरुले अहिलेसम्म पनि लालपूर्जा नभएकै कारण घर मर्मत र पुनः निर्माण गर्न पाएका छैनन् ।
पुसको चिसोमा टीनको छानो अझै निर्दयी बनेको छ सानु मैका लागि । थोत्रो जस्तापाताको ठाउँठाउँमा प्वाल पर्दा वषर्ाको पानी र जाडोको शीतले बृद्धा सानु मैलाई सताउनु सताएको छ ।
जिस्काउँदैछन् चुनावका प्रचार सामाग्रीले
अब त स्थानीय सरकार पनि आयो, नयाँ सरकार पनि बन्दै छ, भोट माग्न आउँदा नेताहरुलाई घर पूर्जा बनाइदिन अनुरोध गर्नुभएन ? यस्तो प्रश्नमा उनी भन्छिन, ‘यस्ता भोट माग्ने आउँछन्, माग्छन् जान्छन्, घर बनाइदिन्छु, लालपूर्जा बनाइदिन्छु भन्ने नेताहरु कति आए, गए । हाम्रो जीवनचर्या यस्तै हो, ०४२ सालदेखि, यो देश हामीजस्ता गरीबका लागि होइन ।’
राज्यका विभिन्न तह र तप्कामा पुगेका कुनै पनि राजनैतिक दल र नेतृत्वले यी रैथाने आदिवासीहरुको आवासको सुनिश्चतताका लागि आवाज उठाउने गरेका छैनन् । मात्र आश्वासन र सपना देखाएर भोट माग्दै आएका र जितेर नीतिगत तह र तप्कामा पुगेका नेतृत्वहरुले ठूला ठूला भाषण गर्दैै हिँडेको सुन्दा यी द्यःलाहरुको मन दुख्ने गरेको छ ।
गत स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यस क्षेत्रका अधिकांशले एमालेलाई भोट हालेको यहाँका बासिन्दाहरु बताउँछन् । विगतमाा हुने गरेको हरेक निर्वाचनमा एमालेलाई नै निरन्तर मतदान गर्ने गरेको बताउँछन् उनीहरु ।
यस क्षेत्रमा एमालेको प्रभुत्व रहेकै कारण उम्मेदवारहरु भोटसम्म पनि माग्न नआउने गरेको उनीहरुको अनुभव छ । तर, यसपटकको प्रतिनिधि सभा र प्रदेश सभामा भने अन्य दलका पनि केही नेताहरु भोट माग्न पुगेको र जितेको पार्टीले केही गर्ला कि भन्ने आशा जागेकोस्थानीय युवा नवीन द्यःला बताउँछन् ।
भेलुखेलको यो द्यःला टोलमा अझै पनि एमालेका प्रचार सामाग्री झण्डालगायतका सामाग्री उस्तै छरपस्ट देखिन्छन् । जर्जर र रंगविहीन अवस्थामा रहेका यी प्रचार सामाग्रीले यी द्यःलाहरुका जीवन र भत्केका घर अवशेषहरुलाई जिस्काइरहेझैं लाग्छ ।
बत्तीपानीको बिल छ, लालपुर्जा छैन, किन ?
जम्माजम्मी दुई पैसासम्मको क्षेत्रफलमा बनेका साना घरहरु भएका भेलुखेलका ८७ घरधुरीका प्रायःजसोका धारा र बत्तीका बिलहरु छन् । धारामा पानी नआएको वर्षौं भएता पनि पानीको पैसा तिर्ने क्रमले निरन्तरता पाइरहेकै छ ।
पानी र बिजुलीको बिल तिरे पनि अहिले धनीपूर्जा नहुँदा मानो छुटयाएका घरको अंशबण्डा गर्ने, घर बाँड्नदेखि नयाँ धारा बत्ती जडान गर्नेसम्मका काममा तगारो लागेको छ । भूकम्पमा भत्किएको घर बनाउन नसकेको समस्या त उस्तै छ ।
आखिर भक्तपुरका द्यःलाहरुसँग किन यस्तो विभेद ? यसो हुनुको कारणमा स्थानीय अन्य जातिसँगको विवादलाई कारण मान्छन् स्थानीय द्यःलाहरु । विसंं ०२७ सालमा चंगाका लागि भएको झगडाले अहिलेसम्म निरन्तरता लिएको हुन सक्ने स्थानीयको भनाइ छ ।
०२७ सालमा दशैंको टीकाका दिन एउटा चंगाका लागि स्थानीय भेलुखेलबासी अन्य समुदायको झगडा परेको थियो । त्यही विवाद लम्बिएर ०३३ सालमा मात्रै मेलमिलाप भयो
०२७ सालमा दशैंको टीकाका दिन एउटा चंगाका लागि स्थानीय भेलुखेलबासी अन्य समुदायको झगडा परेको थियो । त्यही विवाद लम्बिएर ०३३ सालमा मात्रै मेलमिलाप भयो ।
विक्रम संवत ०४२ सालमा नापी आउँदा आदिवासी जनजाति द्यलाहरुका घरजग्गामा नापी हुन सकेन । विगतमै नाप नक्शा भइसकेको भन्दै नापीका कर्मचारीहरुले पुनः नाप्न नमानेपछि माइला बाबुलगायतका स्थानीय द्यःलाहरु स्थानीय नगर पञ्चायतलगायत नापी कार्यालयमा धाउन थाले ।
रहस्य के रहेछ भने आफूलाई पक्रन वा उठीवास लाउन पो आएको हो कि भन्ने डरका कारण ०२१ सालको नापी आउँदा प्रायःजसो द्यःलाहरु घर छोडेर भागेछन् । विगतको राणकालीन धङधङी र मारमा अपहेलित एवं शिक्षाबाट बञ्चित यी द्यःलाहरुले के कारणले आफ्नो घरबारी नाप्न कर्मचारीहरु आए भन्ने कुरा बुझ्न सकेनन् ।
घर कसको हो भन्ने पहिचान नहुँदा एउटै ब्लकमा नापी गरी घर, कुलो, सार्वजनिक जग्गामा नाप नक्सा गरी नापी कर्मचारीहरु ०२२ साल भाद्र ७ गते नापी विभागमा प्रतिवेदन बुझाई लाखापाखा लागेका रहेछन् ।
यसरी तत्कालीन नापीमा छुटेका कारण ०४२ सालको नापीमा समेत उनीहरुको घरबारी नाप नक्शामा पर्न सकेन ।
यसैवीच ०४६ सालमा प्रजातन्त्र पुनः स्थापना पश्चात ८२ जनाको संयुक्त निवेदन तात्कालीन मालपोत कार्यालयमा स्थानीयले बुझाए । आफ्नो ठाउँलाई पुनः नापनक्सा गरी जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी द्यःलाहरुले निवेदन दिए ।
भक्तपुर मालपोत हुँदै मालपोत विभाग काठमाडौंसम्म पुगेको सो पत्र र आवश्यक कारवाहीका लागि भएका कार्यगत गतिविधि पश्च्ाात पनि तात्कालीन प्रशासनले चासो नदेखाउँदा धनीपूर्जाका लागि आवश्यक कारवाहीमा अहिलेसम्म बिराम लागिरहेको छ ।
यही क्रममा ०५४ असोज ७ गते तात्कालीन भूमिसुधार मन्त्रीलाई माइला बाबु द्यःला तथा मोतीमाया पोडे लगायत ८७ घरधुरीले आफ्नो घर परेको कित्ता नं समेत संलग्न गरी पुनः नाप नक्सा गरी पूर्जा दिलाईपाउँ भनेर निवेदन दिए ।
निवेदनमा ०५१ सालमा एमालेको सरकार हुँदा सुकुम्बासी आयोग गठन भएको र पीडित द्यःलाहरुले निवेदन दिएको तर त्यसको कुनै सुनुवाई नभएको व्यहोरासमेत उल्लेख थियो ।
नयाँ नेपालको सपना देखाउने एमाले नेतृत्वबाट पनि पीडितहरुको आवाज सम्बोधन हुन सकेन । तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट पनि त्यसको सुनुवाइ भएन
पटक-पटक कहिले भक्तपुर मालपोत कार्यालय हुँदै मालपोत विभाग काठमाडौं पुग्ने त कहिले भूमिसुधार मन्त्रीको ढोका घच्घच्याउने गर्दै आएका द्यःलाहरु अन्ततः पुनःनाप नक्शाका लागि तात्कालीन प्रशासनले चासो नदेखाएपछि सो विषयमा विस्तृत विवरणसहित ०६६ सालमा तात्कालीन एमाले प्रधामन्त्री माधव नेपालसमक्ष पुगे ।
तर, सामाजिक रुपान्तरणसहितको नयाँ नेपालको सपना देखाउने एमाले नेतृत्वबाट पनि पीडितहरुको आवाज सम्बोधन हुन सकेन । तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले यसका लागि पहल गरिने बताए पनि त्यसको सुनुवाइ भएन ।
माइलाबाबुको प्रश्न
नेवा दे दबु केन्द्रका महासचिव तथा द्यःला समाजका अध्यक्ष माइलाबाबु द्यःलाको आफ्नै घरको पुनः निर्माण ०३० सालमा बकाइदा तत्कालीन भक्तपुर नगरपालिकाले नक्शा पास गरिदिएको छ । ‘यदि यो जग्ग्गा हाम्रो थात थलो थिएन भने नगर पञ्चायतले कुन आधारमा नक्शा पास गर्यो त ?’ माइलाबाबु प्रश्न गर्छन्- ‘यो त निरीहलाई दुःख दिने कुरा होईन र ?’
बैशाख १२ को भूकम्पपश्चात हालसम्म पनि पूर्जा पाउने आशामा माईलाबाबु द्यःला लगायतका ८७ घरधुरीका आदिवासीहरु बसिरहेका छन्
आफ्नो थातथलोमा रहेको घर जग्गाको सीमांकन गरी जग्गाधनीको पूर्जा प्राप्त गर्ने द्यःलाहरुको निरीह सपना कहिले प्रजातन्त्र पुनःस्थापना, कहिले दश वर्षे सशस्त्र द्वन्द्व त कहिले ०६२/०६३ को जनआन्दोलनका लागि भएको मारमुंग्रीका कारण ओझेलमा परे ।
आन्तरिक द्वन्द्वका कारण ओझेलमा परेका यी द्यःलाहरु मुद्दा र दुःखदर्द नेपालको कर्मचारीतन्त्र र नेतृत्वको नजरमा कहिल्यै परेन । न त यिनीहरुलाई स्वबासी दर्ता गरी लालपूर्जा दिने विषयले संसदका बैठकहरुमा नै प्रवेश पायो ।
विगत ३४ वर्षदेखि स्वबासीमा दर्ता गरी पूर्जा पाउँ भन्दै क्रमशः ०४२, ०५४, ०६३ र ०६६ साल गर्दै गत ०७२ बैशाख १२ को भूकम्पपश्चात हालसम्म पनि पूर्जा पाउने आशामा माईलाबाबु द्यःला लगायतका ८७ घरधुरीका आदिवासीहरु बसिरहेका छन् ।
अन्यत्र जिल्लाका सुकुमबासीका नाममा लालपूर्जा प्राप्त गरेको, र तिनीहरुले क्रमशः आर्थिक प्रगति गरेको समाचार सुन्दै मन मारेका यी ८७ घरधुरीका द्यःलाहरु मध्ये केहीको मृत्युसमेत भइसकेको छ । तर, जिउँदोमा पूर्जा पाउने आशा भने अझै मरेको छैन ।
उसो त नेपालको संविधान ०७२ को धारा २५ ले प्रत्येक नागरिकलाई सम्पत्तिको हक सुनिश्चत गरेको छ । धारा ३७ ले आवासको हक अन्तरगत प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ र कानुन बमोजिम कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भनी स्पष्ट लेखिएको छ ।
त्यस्तै राज्यको नीति निर्देशक सिद्धान्तले हरुवा-चरुवा, भूमीहीन सुकुमबासी लगायतको पहिचान गरी बसोबासका लागि घर घडेरी लगायतको व्यवस्था गरी पुःन स्थापना गर्ने नीतिहरु अवलम्बन गरिने छ भनेको छ ।
तर, भूमीहीन वा सुकुम्बासीहरुका लागि संविधान र कानुनमा जेजस्ता खाकाहरु कोरेता पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन । त्यस्तै अन्र्तराष्ट्रिय श्रम महासन्धी आइएलओे १६९ लगायतका सन्धी सम्झौताहरुले समेत आदिवासी जनजातिहरुको भूमिमाथिको अधिकार तथा पहुँचका लागि व्यवस्था गरेको छ । त्यो पनि द्यःलाहरुका लागि व्यवहारमा आएको छैन ।
को हुन् द्यःला ?
नेपाल जातीय विविधता र उपजातिहरुको समिश्रण भएको देश हो । त्यसमाथि पनि नेवार समुदायभित्रको जातिगत संरचना र विविधता एकआपसमा जेलिएको छ । नेवारहरु नेपालका आदिवासी-जनजाति हुन् । यही नेवार समुदायकै एक उपजातिका रुपमा द्यःला समुदायको अस्तित्व रहेको छ ।
मीरा राजभण्डारी अमात्य
विगतमा यस समुदायलाई अछुत मानेता पनि त्यही समुदायलाई विभिन्न मन्दिरहरुमा पुजारी वा संरक्षक मानिएको पाइन्छ । विभिन्न मन्दिरमा विनारकम सुँगुर, हाँस, माछालगायत बुझाउनुपर्ने व्यवस्थासँगै जात्रामा लिंगो व्यवस्था गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी दिएको बाट यिनीहरुलाई अछुत वा दलित भन्न मिल्ने कुनै आधार देखिँदैन ।
नेवार समुदायमा जातीय विविधता रहेबाट नेपालको इतिहासमा द्यःला जातिहरु कहिलेबाट आए भन्ने कुनै प्रमाण छैन । मानवशास्त्रीका दृष्टिले पहिलो आदिवासीहरु नदी छेउछाउ वा पानीको दायाँ वायाँ बस्ने जाति भनिएको आधारमा आजका द्यःलाहरु नै नेपालको पहिलो वा सबैभन्दा पुरानो आदिवासी जनजाति नेवार भनी मान्न सकिने नेपाल भाषाका प्रध्यापक तथा राश जोशीले आफ्नो पुस्तक ‘नेवाः समाजय् द्योःला’ नामक पुस्तकमा उल्लेख गरेका छन् ।
उसो त चिनियाँ यात्री हुयन साङ, फाहृयान को यात्रा डायरी र कौटिल्यको अर्थशास्त्र मा उल्लेख भएको चाण्डालसँग यिनीहरुको तुलना गरिएता उल्लेखित चाण्डालहरुको जीवन शैली र समाजमा रहेको भूमिकामा आकाश र जमीनको अन्तर पाइन्छ ।
नेवारी समाजमा अहिलेको कथित दलित समुदायसंग द्यःलाहरुको जीवनशैली र भूमिका एक अंश पनि मिल्दैन । द्यःलाहरुले भक्तपुर, बनेपा काठमाडौ पनौति लगायतका स्थानमा विभिन्न मन्दिर तथा पीठहरुमा पुजारी, संरक्षक र देवदेवीका गहनालगायतका सामग्रीहरुलाई स्याहार सम्भार गर्ने जिम्मा पाएबाट हिन्दु धर्म बर्णाश्रमा आधारित ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको विभाजनमा यिनीहरु नपर्ने आधार प्रशस्त छन् ।
हालको कथित हिन्दु वर्णाश्रममा आधारित दलितले मन्दिरसम्म पनि प्रवेश पाउँदैनन् । अझ द्यःलाहरु र कथित उपल्लो तहका कतिपय मन्दिरका पूजाआजा र गुठीमा द्यःला वा द्यःपालासँग रहने गुठीका नाइकेले एकअर्काको जुठोसमेत खानै पर्ने संस्कार रहेबाट पनि द्यःलाहरु अहिलेको कथित दलित र प्राचीन शुद्र वा चाण्डाल नरहेको पुष्टि हुन्छ ।
भक्तपुर भेलुखेल वा भेलुख्यः का द्यःलाहरुको गुठीको प्राप्त एक ठयासफुमा ‘द्यःलाहरुको वस्ती’ भनी उल्लेख भएबाट (नेपाल सम्वत ८७९) उक्त थातथलो द्यःला जातिकै भएको प्रमाणित हुन्छ ।
जयस्थिति मल्लले असंगठित र अमार्यादित भएको समाजमा थीति बसाल्ने बहानामा पाँच मैथिल ब्राहृमण कीर्तिनाथ उपाध्याय लगायतको सहयोगमा जातीय व्यवस्थाको पुनःशुरुवात गरे । लिक्ष्वीकालमा प्रवेश गरेका ब्राह्मण, डुमलगायतका सनातन धर्म मान्ने जातिहरु नेपाल प्रवेशपछि यिनै द्यःलाहरुमा समागम वा मिश्रित भई कालान्तरमा लिच्छवीहरुसँग प्रवेश गरेका डुमकै श्रेणीमा राखिएको मान्न सकिन्छ । यसका आधारमा द्यःलाहरु यहाँका आदिवासी वा लिच्छवीहरुभन्दा पुराना बासिन्दा हुन् भन्ने आधार प्रशस्तै छ ।
नेवार वास्तु संरचनालाई मनन गर्ने हो भने यी द्यःला जातिहरु हरको सिरान वा छेउमा मूल ढोकाभन्दा बाहिर बसी नगर रक्षकको जिम्मा पाएका लडाकूहरु मानिन्छ । उनीहरुको विगतमा आफ्नै देश, राज्य भएको तर कालान्तरमा अन्य जातिले राज्य जितेपछि नेतृत्वहरुले आत्महत्या गरेको र बाँकी रहेकाले जीवनदान पाई अत्यन्त निम्न स्तरमा राखिएको अध्येताहरु बताउँछन् ।
भक्तपुर जिल्लाको सूर्यविनायक लगायतका मन्दिरमा द्यःलाहरु द्यपाला रहने परम्परा यद्यपि कायमै छ । काठमाडौमा तखती अजिमा, कंकेश्वरी, मैतीदेवी अनि ललितपुरमा महालक्ष्मी, चामुण्डा लगायतका मन्दिरहरुमा समेत द्यःलाहरु पुजारी हुने परम्परा यथावत छ
कालान्तरमा काठमाडौं उपत्यकामा हरेक शासकहरु आउँदा पनि उनीहरुको जीवन शैली र राज्यले गर्ने विभेद तथा व्यवहारका कारण उही दर्जामै सीमित रहनु परेको नेपाल भाषा विज्ञ तथा पत्रकार नरेशवीर शाक्यको भनाइ छ ।
अहिले पनि द्यःलाहरुको जीवनशैली र संस्कारमा खासै परिवर्तन आएको छैन । यिनीहरुका घरझगडादेखिका द्वन्द्व साम्य पार्न पञ्च समुच्यवीच बहस भई न्याय निसाफ गर्ने परम्परा अझै कायम छ । यसलाई उनीहरु आफ्नो राज्यसत्ता गुम्नुअगावैको राजकीय परम्परा संस्कार मान्दछन् ।
भक्तपुर जिल्लाको सूर्यविनायक लगायतका मन्दिरमा द्यःलाहरु द्यपाला रहने परम्परा यद्यपि कायमै छ । काठमाडौमा तखती अजिमा, कंकेश्वरी, मैतीदेवी अनि ललितपुरमा महालक्ष्मी, चामुण्डा लगायतका मन्दिरहरुमा समेत द्यःलाहरु पुजारी हुने परम्परा यथावत छ ।rce
Source:https://www.onlinekhabar.com/2018/01/653726