महासंघ र सञ्चार मन्त्रालयबीच छलफल

महासंघ र सञ्चार मन्त्रालयबीच छलफल

२०७८ आषाढ १७

असार १७, काठमाडौं । नेपाल पत्रकार महासंघ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबीच कोभिड–१९ ले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधानका लागि छलफल भएको छ । 
आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा भएको छलफलमा महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड–१९बाट प्रभावित पत्रकारका लागि लेखनवृत्ति कोष स्थापन गर्न आग्रह गर्नुभएको छ । त्यस्तै, लोककल्याणकारी विज्ञापन भुक्तानीलाई सहज बनाउन, पत्रकारलाई निःशुल्क उपचार गर्ने सरकारको नीतिबारे कोही पत्रकार वञ्चित नहुने गरी कार्यविधि बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।  
छलफलमा अध्यक्ष पोखरेलले रेडियो नेपालमा बर्षाँैदेखि करारमा कार्यरत पत्रकार  तथा कर्मचारीलाई सेवाबाट विमुख हुने गरी नियमावली बनेकोमा उनीहरुलाई बेरोजगार हुन नदिने गरी आवश्यक सम्बोधन गर्नसमेत  ध्यानाकर्षण गराउनुभयो । 
मन्त्रालयका सहसचिव एवं प्रवक्ता शोभाकान्त पौडेलले महासंघले उठाएको समस्या समाधान गर्न कतिपय विषयमा मन्त्रालयले कार्यविधि नियमावली बनाइरहेको जानकारी दिनुभयो । उहाँले कार्यविधिमा महासंघको सुझावलाई समेट्ने विश्वास पनि दिलाउनुभयो । 
छलफलमा महासंघका तर्फबाट सचिव सृजना अर्याल, कोषाध्यक्ष कलेन्द्र सेजुवाल र लेखा समिति सदस्य मुकुन्द प्रसाद भण्डारी सहभागी हुनुहुन्थ्यो ।