अदिवासी जनजाति पत्रकारहरुको अवस्था र समावेशीकरण विषयक छलफल कार्यक्रमको आयोजना

अदिवासी जनजाति पत्रकारहरुको अवस्था र समावेशीकरण विषयक छलफल कार्यक्रमको आयोजना



२०७८ पौष १६

पुस १६, काठमाडौं । नेपाल पत्रकार महासंघले अदिवासी जनजाति पत्रकारहरुको अवस्था र समावेशीकरण विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । छलफल कार्यक्रममा नेपाली मिडिया क्षेत्रमा आदिवासी जनजाति पत्रकारहरुको समावेशीकरणको अवस्था, मिडियाका विषयवस्तुमा समावेशीकरण र विभिन्न भाषागत पत्रकारिताका विषयमा छलफल गर्दै सहभागीहरुले महासंघलाई मिडियामा समावेशीकरण वृद्धि गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सबैको पहिचान र समावेशीकरणका लागि मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा बताउनुभयो । त्यसैगरी न्यूजरुम र मिडियाका विषयवस्तुमा समावेशीकरणका लागि महासंघ लगायत संस्था र मिडिया हाउसले नीति बनाउनु पर्ने र राज्यलाई पनि यसका लागि दबाव दिनु पर्ने कुरा बताउनु भयो । महासंघले आफ्ना संरचनाहरुमा समावेशीकरण बढाउन विभिन्न समयमा विधान संशोधनमार्फत काम गरेको र त्यसलाई भविष्यमा अझै बढाउदै लैजाने बताउनु भयो ।
आदिवासी जनजाति आयोगका अध्यक्ष मा. रामबहादुर थापामगरले यदि भाषागत पत्रकारिताको विकास र आदिवासी जनजातिको सवालमा कतै नीतिगत बन्देज छ भने त्यसलाई फुकाउन आयोगले काम गर्नसक्ने जानकारी दिनुभयो । सहभागीहरुले उठाएका भाषागत पत्रिकाहरुको वर्गीकरणमा समस्या देखिएको विषयमा उहाँले आयोग र महासंघ मिलेर यसमा सहजीकरण गर्नसक्ने बताउनु भयो ।
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषागत पत्रकारिताको विकासका लागि भाषा आयोगले सरकारलाई सिफारिश गर्नसक्ने हुँदा यसका लागि निरन्तर छलफल गरी अगाडि बढ्न सकिने बताउनु भयो । उहाँले आदिवासी जनजातिको पहिचा अन्तर्गत भाषाको पहिचान प्रमुख हुने भएकाले भाषागत पत्रकारिताले लोपोन्मुख भाषाहरुको संरक्षणका लागि पनि काम गर्नसक्ने बताउनुभयो ।
आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले अझै पनि भाषागत पत्रकारिताले समस्या भोग्नु परिरहेको कुरा उठाउँदै महासंघ तथा राज्यका निकायहरुले समेत यसलाई महत्व दिन नसकेको कुरा औंल्याउनु भयो । आदिवासी जनजाति पत्रकारहरुले आवाज उठाउँदा यसलाई गलत रुपमा बुझ्न नहुने कुरामा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले भाषागत पत्रकारितालाई प्रेस काउन्सिल, विज्ञापन बोर्ड लगायत निकायहरुले समेत महत्व नदिएको, विज्ञापन बोर्डले दिएका विज्ञापन नेपाली भाषामा प्रकाशित गरे मात्र भुक्तानी गर्ने, भाषागत पत्रिकाहरुको वर्गीकरणमा देखिएको विषयप्रति महासंघको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी सहभागीहरुले न्यूजरुममा आदिवासी जनजाति पत्रकारहरुको संख्या न्यून रहेकाले त्यसका लागि पनि आवश्यक नीति तय गर्न, नीतिगत पैरवीका लागि रणनीति निर्माण गर्न र क्षमता अभिवृद्धिका कार्यक्रमहरु बनाउन महासंघलाई आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिअन्तर्गत आदिवासी जनजाति समितिको आयोजनामा भएका छलफलमा समितिका संयोजक तथा महासंघका सचिव नारायण किलम्बुले महासंघले आफ्नो रणनीतिक योजनामा मिडियामा समावेशीकरणलाई महत्व दिएकाले यस्तो छलफलहरुले महासंघलाई आफ्नो कार्ययोजना निर्माण गर्न सहज हुने बताउनु भयो ।

कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय संघका सुनिल महर्जन, तामाङ्ग पत्रकार संघका विष्णु तामाङ, थारु पत्रकार संघका प्रदिप लेखी लगायत विभिन्न संघसस्थबाट प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।