९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा फोटो प्रदर्शनी 

९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा फोटो प्रदर्शनी 



२०७९ बैशाख १३

बैशाख १३, काठमाडौं । ९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा फोटो पत्रकार क्लब नपालले नेपाल पत्रकार महासंघ संगको सहकार्यमा काठमाडौंको बसन्तपुरमा फोटो प्रदर्शनी गरेको छ । फोटो प्रदर्शनीलाई नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 
कार्यक्रमलाई शुभकामना दिदै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारितामा फोटोको प्रभावकारिताका बारे उल्लेख गर्दै फोटोले पाठकलाई समाचारप्रति थप विश्वसनीयता दिलाउने बताउनुभयो । उहाँले विभिन्न खाले जोखिम मोलेर फोटो पत्रकारितामा क्रियाशील सबै पत्रकारलाई सम्मान व्यक्त गर्दै यो पेशालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेस मैत्री बनाउन आग्रह गर्नुभयो ।  
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तस्वीर जहिलेपनि स्वतन्त्र र तटस्थता हुने भन्दै समाचार पनि त्यस्तै हुनुपर्ने बताउनुभयो । उहाँले विभिन्न समयमा पत्रकारमाथि प्रश्न उठ्ने गरेको भन्दै पत्रकारले लेख्ने समाचार तस्वीर जस्तै स्पष्ट लेख्न सके पत्रकारिता प्रतिको विश्वसनीयता बढ्ने बताउनुभयो । 
फोटो पत्रकार क्लब नेपालकी अध्यक्ष श्रुती श्रेष्ठले फोटो पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुबै रहेको भन्दै यस क्षेत्रलाई सुरक्षीत बनाउन सरकारलाई आग्रह गर्नुभयो । 
प्रदर्शनीमा फोटो पत्रकारले विभिन्न समयमा जोखिम मोलेर फोटो खिच्दै गरेका तस्वीर प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी आज एक दिन हुने फोटो पत्रकार क्लब नेपालका पूर्व अध्यक्ष विकास कार्कीले जानकारी दिनुभयो । 
त्यस्तै राष्ट्रिय फोटो पत्रकार समूहले पनि काठमाडौंको बसन्तपुरमा एकदिने फोटो प्रदर्शनीको आयोजना गरेको छ । उक्त प्रदर्शनीको पनि महासंघका अध्यक्ष विपुल पोख्रेलले  अवलोकन गर्नुभएको थियो ।