नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल पत्रकार महासंघको बधाई

नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल पत्रकार महासंघको बधाई



२०७९ पौष २१

पुस १९, काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले भेटेर बधाई तथा कार्य सफलताकाे शुभकामना दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार महासंघको प्रतिनिधिमण्लले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बधाई दिनुका साथै कार्यसफलताको शुभकामना दिदै सञ्चार क्षेत्रमा रहेका समस्या बारेमा अवगत गराएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकार तथा सञ्चारमाध्यममाथि विभिन्न वाहानामा हिंसा जारी रहेको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको सवाल, सञ्चारसम्बन्धी कानुनका विषयमा प्रधानमन्त्रीलाई अवगत गराउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेसलाई अंकुश लगाउने काम गरेर लोकतन्त्रलाई अघि बढाउन नसकिने बताउनुभयो । मिडिया काउन्सिल विध्येक आउदा ठुलो वहस भएको भन्दै त्यसलाई परिमार्जन नगरि अघि बढाउन नहुने प्रतिद्धता विगतको महासंघसंगको भेटमा आफुले गरेको बताउनुभयो ।

सञ्चार सम्बन्धी कानुन बनाउदा नेपाल पत्रकार महासंघ, राजनीतिक दल र सरोकारवालाको सुझाव र सल्लाह बमोजिम नै बनाइने छ । शान्तिप्रकृया स्थापना गर्न , जनताको अधिकार स्थापित गर्नुकासाथै, संविधान निर्माण गर्न प्रेसको महत्वपूर्ण भूमिका छ ।

लोकतन्त्रको सिद्धान्त विपरित प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउनेगरी कुनैपनि कानुन निर्माण गरिदैन । प्रधानमन्त्री प्रचण्डले श्रमजीवी पत्रकारका समस्याप्रति आफु जानकार रहेको भन्दै पत्रकारको स्वास्थ्य उपचारलगायतका विषयवस्तु र महासंघको भवन स्तरउन्नतीका लागि सरकारका तर्फबाट गर्नसक्ने सहयोग उपलब्ध गराउने बताउनुभयो ।

यूट्युव लगायत सामाजिक सञ्जालामा देखिएको समस्याप्रति राजनीतिक वृत्तमा छलफल भइरहेको भन्दै त्यसलाई व्यवस्थापन गरिने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

भेटमा महासंघका उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, पूर्व अध्यक्ष तथा महासंघका सल्लाहकार डा.महेन्द्र विष्ट र सल्लाहकार निर्मला शर्माले सञ्चार क्षेत्रका समस्या बारे प्रधानमन्त्रीलाई अवगत गराउनुभएको थियो ।