'लैङ्गिकताको सवालमा नेपाली मिडिया' विषयमा अन्तरक्रिया सम्पन्न 

'लैङ्गिकताको सवालमा नेपाली मिडिया' विषयमा अन्तरक्रिया सम्पन्न 



२०८० फाल्गुण २२

 

फागुन २२, काठमाण्डौ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला समितिले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सहकार्यमा लैङ्गिकताको सवालमा नेपाली मिडिया विषयक अन्तरक्रिया आयोजना गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संचारमाध्यमको अवधारणालाई सामाजिकरण गरेर लैजानुपर्ने बतानुभयो । उहाँले समाजलाई सन्तुलित विकासतर्फ अघि बढाउन लैङ्गिकताको सवाललाई अझ पेचिलो ढंगले उठाउनुपर्नेमा जोडदिनुभयो । 

न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले हामीले भोगिरहेका समस्याबारे छलफल गरेर नीति निर्माणगरी समस्या समाधानका उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो । महिलाले प्रतिनिधित्व सँगसँगै नेतृत्व गर्न पनि सक्नुपर्ने उहाँको भनाइ छ । 

महासंघका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि निर्मला शर्माले सम्पादकीय तहमा महिला पत्रकारको पहुँच कम रहेको भन्दै  तथ्याङ्कमा समावेशी देखिए पनि क्षमता विकासको अभाव , आर्थिक , भौतिक असुरक्षाले कार्यक्षेत्रमा महिला पत्रकार न्यून रहेको बताउनुभयो । 
अग्रज पत्रकार पुरूषोत्तम दाहालले पत्रकारितामा २० प्रतिशत महिला पत्रकार हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले यस जमातले देशको हरेक क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न पहल गर्नुपर्ने बताउनुभयो । 

नविन सन्देश मासिक पत्रिकाका सम्पादक कल्पना शर्माले थोरै संख्यामा रहेका महिला पत्रकारलाई महिला भएकै कारण विभेद हुनेगरेको भन्दै यस विषयमा बहस चलाउनुपर्ने बताउनुभयो ।  
कोभिड लगायत अन्य बहानामा विस्थापित महिला पत्रकारहरुको खोजी गरेर समस्या समाधान गर्न महासंघले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।  
अग्रज पत्रकार उषा लोहनीले विगतको समयमा आफुहरुले डर र अभावमा पत्रकारिता गरेको भन्दै हाल परिस्थिति फेरिएको बताउनुभयो । उँहाले हाल पत्रकारको पेशागत असुरक्षा बढेको भन्दै त्यसतर्फ सबैले ध्यानदिनुपर्ने बताउनुभयो । 

नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले पछिल्लो समय नेपाली मिडियामा लैङ्गिकताको सवाल र संवेदनशीलताको विषय गम्भीर हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका सदस्य प्रतिमा चौधरी, नेपाल पत्रकार महासंघ भक्तपु शाखा अध्यक्ष जगत प्रजापती, प्रेस चौतारी नेपाल उपाध्यक्ष देवीका मगर गुरुङग , प्रेस सेन्टरका उपाध्यक्ष गंगा बराल, महासचिव सन्तोष पौडेल सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले आफ्नो धारणा राख्नुभएको थियो । 

त्यसैगरी क्रियाशील महिला पत्रकार समूहका महासचिव चन्दा बिष्ट, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्व अध्यक्ष गौतम दाहाल , लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष दामोदर दवाडी , एनभिआई न्युजका हेमन्त अधिकारी लगायतले धारणा राख्नुभएको थियो ।

 महासंघकी उपाध्यक्ष एवम् महिला विभागका संयोजक बाला अधिकारीले लैङ्गिकताको सवालमा नेपाली मिडिया कस्तो छ भन्दै प्रश्न गर्नुभयो । उहाँले लैङ्गिकताका विषयमा समाचार सम्प्रेषण गर्दा कतै पीडितलाई थप पीडा त भइरहेको छैन भन्दै यस्ता विषयमा पनि बहस चलाउन आवश्यक रहेको बताउनुभयो । सञ्चारमाध्यमले न्याय निसाफ दिनुभन्दापनि सम्बन्धित निकायलाई विषयको सत्यतथ्य प्रस्तुत गर्नुपर्नेमा जोडदिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य आस्था केसीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण महासंघका सचिव सृजना अर्यालले गर्नुभएको थियो ।