पूर्व अध्यक्षहरु सम्मानित

पूर्व अध्यक्षहरु सम्मानित



२०७४ चैत्र १६


नेपाल पत्रकार महासंघले पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघको ६३औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पूर्व अध्यक्षहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र विष्ट हुनुहुन्छ । 

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सम्मानित पूर्व अध्यक्षहरुलाई बधाई दिँदै संघीय लोकतन्त्रको रक्षा र सही प्रयोगमा पत्रकारको दायित्व हुने बताउनुभयो । उहाँले प्राप्त उपलब्धीहरुलाई कार्यान्वयन गर्दै समृद्ध राष्ट्र निर्माणमा लाग्न पत्रकारलाई आग्रह गर्नुभयो । 

महासंघका अध्यक्ष गोविन्द आचार्यले आफ्नो क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको भन्दै पूर्व अध्यक्षहरुको प्रशंसा गर्नुभयो  । पत्रकारितामा अवसर र समस्याहरु रहेको भन्दै उहाँले समस्या समाधानका लागि महासंघ सधै क्रियाशिल रहने बताउनुभयो । 
सम्मानित पूर्व अध्यक्ष हरिहर विरहीले प्रेस स्वतन्त्रता सम्बन्धी संविधानमा भएका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्रिय र संगठीत भएर लाग्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकारको आचरण सुधारमा महासंघले ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । 
कार्यक्रममा महासंघद्वारा प्रकाशित पत्रकारिताको लोकार्पण गरिएको थियो । 
स्थापना दिवसका अवसरमा महासंघले चियापान कार्यक्रम पनि आयोजना गरेको छ ।