विश्व प्रेस स्वतन्त्रता दिवस २०१७ को अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको शुभकामना सन्देश

मे ३ (वैशाख २०) विश्व प्रेस स्वतन्त्रता दिवस । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा मनाइने यो दिवस यो वर्ष दिगो विकास लक्ष हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशिताबीचको सम्बन्धलाई उजागर गरी मनाइँदैछ । नेपालमा पनि त्यही अवधारणामा केन्द्रित भई विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल पत्रकार महासंघको आह्वानमा काठमाडौंमा मे ३ को दिन विहान ७ बजे बानेश्वरदेखि माइतीघर मण्डलासम्म प्रभातफेरि र दिउँसो प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रमको आयोजना गरिदैछ भने महासंघका शाखाको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एबं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ । यस अवसरमा म नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति योगदान पु¥याउने महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण पत्रकार एबं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।


नेपालमा मे ४, २०१६ देखि मे ३, २०१७ सम्म प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकार/ सञ्चार कर्मचारी तथा सञ्चारगृहमाथिको आक्रमणका १८ वटा घटना भएका छन् ।पत्रकारमाथिको दुव्र्यवहारका १५ वटा घटना भएका छन् भने पत्रकार पक्राउ १० र त्यसैगरी पत्रकार तथा सञ्चारगृहमाथिको धम्कीका ९ वटा घटना भएका छन् भने सञ्चार क्षेत्रमा कृयाशील संघसंस्थामा तालाबन्दी तथा कब्जाका ७ वटा घटना भएका छन् । केही समय सञ्चारमाध्यमको प्रकाशन प्रसारण बन्द /अवरोधको ५ वटा घटना रेकर्ड भएका छन् । त्यस्तै पत्रकारको साधनमाथि आक्रमणका २ वटा घटना भएका छन् भने ५ जना पत्रकारलाई समाचार संकलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो । केही सञ्चारमाध्यमबाट पत्रकारलाई निस्काशन गरिएका घटना पनि महासंघको अभिलेखमा दर्ता भएका छन् । त्यसैगरी नीतिगत अवरोधमा यो वर्ष सरकारले जारी गरेको अनलाइन निर्देशिका रहेको छ जसले अनलाइन सञ्चारमाध्यमको स्वतन्त्रतालाई संकुचित गर्ने प्रयास गरेको छ । अघिल्लो वर्षको यही समयमा प्रेस स्वतन्त्रता हननका १३९ घटनाहरू भएका थिए । संख्यात्मक हिसावले हेर्दा यो वर्ष पत्रकार तथा सञ्चार क्षेत्रमा केही सुरक्षित देखिन्छ । यद्यपि प्रबृत्तिगत आधारमा भने प्रेस स्वतन्त्रता हननका साथै दण्डहिनता र सेल्फसेन्सरसीप कायमै रहेको अवस्था छ । राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी हुनु यस अवधिमा प्रेसको विकासका लागि महत्वपूर्ण उपलब्धी बन्न पुगेको छ ।


यो वर्ष आजैको दिन नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन प्रारम्भ गर्ने पूर्व तयारी रहेपनि स्थानीय तहको निर्वाचनको कारण केही समय पछाडि धकेलिन पुगेको छ । यद्यपि महासंघले आजैको दिनलाई महाधिवेशनको प्रारम्भ दिनको रूपमा लिई प्रेस स्वतन्त्रताका साथै पत्रकारको भौतिक तथा पेशागत सुरक्षा र पत्रकारिताका व्यावसायिक मुद्दामाथि देशैभर बहसको प्रारम्भ गरेको छ । म यस बहसमा सहभागी हुन सम्पूर्ण पत्रकार मित्रहरूमा अपील गर्दै महासंघका सवै शाखा तथा एशोसियट संस्थाहरूलाई त्यसको निम्ति कार्यक्रम आयोजना गरी वातावरण बनाउन आग्रह गर्दछु ।


प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो । नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरूपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न सकेको छैन । एकातिर प्रेस आफै पनि मर्यादित हुन जरूरी छ भने राज्यले पनि स्वनियमको माध्यमबाट यसलाई संरक्षण, संवर्धन एबं विकासका निम्ति नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ । प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल राष्ट्र र नेपाली समाजको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, विश्व प्रेस स्वतन्त्रता दिवस २०१७ को अवसरमा पुनः हार्दिक शुभकामना ।

डा. महेन्द्र विष्ट
अध्यक्ष

 

मे ४, २०१६ देखि मे ३, २०१७ सम्म प्रेस स्वतन्त्रता हननका घटनाहरू


१ पत्रकार पक्राउ १०
२ पत्रकार / सञ्चार/सञ्चार कर्मचारी माथिको आक्रमण १८
३ पत्रकार नियन्त्रण ५
४ पत्रकारमाथिको दुव्र्यवहार १५
५ पत्रकार तथा सञ्चार माथिको धम्की ९
६ प्रसारण/प्रकाशनमा अवरोध ५
७ कार्यालयमा तालाबन्दी, कब्जा ७
९ पत्रकारको साधनमाथि आक्रमण २
१० जागिरबाट निस्कासन १
११ नीतिगत बन्देज (अनलाइन निर्देशिका) १
कुल घटना ७३
स्रोतः नेपाल पत्रकार महासंघ