महासंघको १२औं पूर्ण बैठक २०७३ चैत १९ र २० गते नगरकोटमा सम्पन्न

२०७३/१२/२१
नेपाल पत्रकार महासंघको १२औं पूर्ण बैठक २०७३ चैत १९ र २० गते नगरकोटमा सम्पन्न भयो । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले महासचिव उजिर मगरको सांगठनिक कार्य प्रगति र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै मुलुकको समसामयिक परिस्थिति र महासंघका सांगठनिक विषय, नयाँ सदस्यता तथा नवीकरण एबं पत्रकारका पेशागत तथा व्यावसायिक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

नेपाल पत्रकार महासंघको आगामी २५औं महाविधेशनका सन्दर्भमा वैठकले गरेका महत्वपूर्ण निर्णयहरू देहायबमोजिम छन्—

१. नेपाल पत्रकार महासंघको विगतदेखिको परम्परा अनुसार प्रत्येक तेस्रो वर्षको मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले आफ्नो महाधिवेशन आयोजना गर्ने गरेको र यो वर्ष पनि सोही मितिमा महाधिवेशन गर्ने तयारी गरिरहेको अवस्थामा २०७४ बैशाख ३१ गते मुलुकमा १९ वर्षपछि स्थानीय तहको निर्वाचन हुने घोषणा भइसकेका कारण उत्पन्न विशेष परिस्थिति र त्यस्तो संवेदनशील समयमा पत्रकारहरूले स्थलगत रिपोर्टिङ र समाचारकक्षमा निर्वाह गर्नुपर्ने विशेष दायित्वलाई समेत मध्यनजर गर्र्दै बैठकले नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नारा सहित आगामी जुन ३ अर्थात २०७४ जेठ २० गते शनिबारका दिन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । मुलुकको विद्यमान विशेष परिस्थितिमा परिवर्तन भई मे ३ कै दिन महाधिवेशन गर्न संभव हुने अवस्था बनेमा सचिवालयले मिति तय गर्नसक्ने गरी वैठकले अधिकार प्रत्यायोजन समेत गरेको छ ।

२. महाधिवेशन भव्यरूपमा सफल पार्न अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा कार्यसमिति पदाधिकारी तथा सदस्य, लेखासमिति संयोजक तथा सदस्य, सल्लाहकार, पूर्व अध्यक्ष, वरिष्ठ पत्रकार, सञ्चारसम्बद्ध संघ÷संस्थाका प्रतिनिधिसहित १ सय १ सदस्यीय मूल व्यवस्थापन तयारी समिति गठन गरेको छ । त्यस्तै उपाध्यक्ष खिलबहादुर भण्डारीको संयोजकत्वमा आवास, उपाध्यक्ष अनिता बिन्दुको संयोजकत्वमा भोजन, महासचिव उजिर मगरको संयोजकत्वमा प्रचार÷प्रसार, सचिव प्रभात चलाउनेको संयोजकत्वमा स्मारिका प्रकाशन, सचिव संगिता खड्काको संयोजकत्वमा स्वागत, सचिव ध्रुब लम्सालको संयोजकत्वमा स्वयंसेवक, कोषाध्यक्ष सूर्यमणि गौतमको संयोजकत्वमा आर्थिक स्रोत परिचालन, सदस्य प्रकाश तिम्लसिनाको संयोजकत्वमा मञ्च व्यवस्थापन, सदस्य ईश्वरी वाग्लेको संयोजकत्वमा यातायात, रामहरि सिलवालको संयोजकतत्वमा प्रतिनिधि सामग्री व्यस्थापन, सदस्य रोशन पुरीको संयोजकत्वमा स्वास्थ्य लगायतका उपसमितिहरू पनि गठन गरेको छ ।

३. नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको निर्वाचन प्रक्रिया सञ्चालन गर्न प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

४. अधिवेशन सम्पन्न हुन बाँकी शाखा तथा एशोसियट संस्थाहरूको अधिवेशन तत्काल गर्न र अधिवेशन सम्पन्न भई प्रतिवेदन प्राप्त हुन बाँकी रहेका शाखा एशोसियट संस्थाहरूलाई तत्काल प्रतिवेदन पठाउन बैठकले पुनः आह्वान गरेको छ । आगामी वैशाख ७ गतेभित्र अधिवेशन सम्पन्न हुन नसकेका शाखाले २५औं महाधिवेशनमा सहभागी हुन नसक्ने बैठकले निर्णय गरेकोले समयसीमा भित्रै सहज ढंगबाट बाँकी अधिवेशन सम्पन्न गरी प्रतिवेदन पठाउन वैठकले सम्बद्ध शाखा÷एशोसियट संस्थाहरूलाई आग्रह गरेको छ ।

५. बैठकले इलाम र पाँचथर शाखाको विवादलाई स्थलगत भ्रमणसमेत गरेर सहमतिमा टुंग्याउन र ताप्लेजुङको गुनासो पनि सुनुवाई गर्न क्षेत्रीय संयोजक र सहसंयोजकसहित तीन सदस्यीय समितिलाई जिम्मेवारी सुम्पिएको छ । अन्य क्षेत्रमा रहेका विवादको समाधान एवं अधिवेशन सम्पन्न गराउन समन्वय र पहल गर्ने जिम्मेवारी पनि सम्बद्ध क्षेत्रीय संयोजक र सहसंयोजकलाई सुम्पिइएको छ ।

६. महासंघका केही जिल्ला शाखाहरूमा सदस्यतालगायतका विषयमा गुनासो गरी शाखा कार्यालयहरुमा ताला लगाइएकोप्रति बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । स्थानीय तहको निर्वाचनलगायतको संवेदनशील अवस्थामा प्रेस स्वतन्त्रताको उपभोग र पत्रकार सुरक्षामा पर्नसक्ने जोखिमको ख्याल गरी तत्काल संवाद प्रारम्भ गरी यो निर्णय सार्वजनिक भएको २४ घन्टाभित्र ताला खोल्न बैठकले आव्हान गरेको छ । यदि २४ घन्टाभित्र ताला नखोलिएमा ताला खोली शाखाका काम कारवाही कार्यालयभित्रबाटै सुचारु गर्न सम्बन्धित शाखा कार्यसमितिलाई बैठकले निर्देश गरेको छ ।

७. विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३, २०१७) अर्थात २०७४ बैशाख २० गते नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन प्रारम्भको संकेतस्वरूप महाधिवेशनको मूल नारा ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ मा केन्द्रित रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार सुरक्षा, सूचनाको हक, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, मिडिया विकास÷विषयवस्तु, समानुपातिक विज्ञापनलगायत नेपाली मिडियाका समसामयिक मुद्दाहरूमा बृहत छलफल सहित मनाउने बैठकले निर्णय गरेको छ । सम्पूर्ण जिल्ला, प्रतिष्ठान, एशोसिएट, वैदेशिक शाखाले समेत सोही बमोजिम कार्यक्रम तय गरी मनाउन बैठक आव्हान गर्दछ ।

८. व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनमा अनिवार्य सहभागिताका लागि महासंघ केन्द्रीय सभासदहरूलाई हार्दिक आमन्त्रण गर्दछ । साथै महासंघको यो ऐतिहासिक महाधिवेशनलाई भव्य र शानदाररूपमा सम्पन्न गराउन सहयोगका लागि सम्पूर्ण जिल्ला÷प्रतिष्ठान÷वैदेशिक शाखा, एशोसिएट संस्था, महासंघका सदस्य, सञ्चारगृह एवं शुभच्छेक सवैलाई महासंघ हार्दिक अपील गर्दछ ।

................

उजिर मगर
महासचिव