कोरोना संक्रमणका कारण राजधानी न्युज पब्लिकेसन्स प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्चारउद्यमी महेन्द्र शेरचन र झापास्थित रेडियो झापाका सञ्चालक तथा स्टेसन म्यानेजर गणेश शिवाकोटीको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०७८।०५।०४

कोरोना संक्रमणका कारण राजधानी न्युज पब्लिकेसन्स प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्चारउद्यमी महेन्द्र शेरचन र झापास्थित रेडियो झापाका सञ्चालक तथा स्टेसन म्यानेजर गणेश शिवाकोटीको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत सञ्चारउद्यमी शेरचनको उपचारकै क्रममा भाद्र २ बुधबार निधन भएको थियो भने रेडियो झापाका स्टेसन म्यानेजर शिवाकोटीको झापास्थित आम्दा अस्पतालमा उपचारकै क्रममा भाद्र ३ गते बिहीबार निधन भएको हो ।

महासंघ स्वर्गीय सञ्चारउद्यमी शेरचन र स्टेसन म्यानेजर शिवाकोटीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण हालसम्म २३ जना पत्रकार तथा सञ्चारकर्मीको निधन भएको छ भने १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्