नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य विन्दुकुमार चौहानको कोरोना संक्रमणका कारण ५३ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति :२०७८।०५।३०

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य विन्दुकुमार चौहानको कोरोना संक्रमणका कारण ५३ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

कोरोना संक्रमणको लक्षण देखिएपछि होम आइसोलेसनमा रही कोरोना ठीक भैसकेका पत्रकार चौहानको स्वास्थ्यमा एक्कासि समस्या आएपछि ५ दिनअघि भैरहवास्थित युसिएम अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा फोक्सोमा समस्या आई निमोनिया देखिएका चौहानको उपचाररत अवस्थामा गएराति २ः०० बजे निधन भएको हो । स्वर्गीय चौहानका श्रीमती, तीन छोरी र चार छोरा छन् ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय चौहानले बुटवलस्थित लुम्बिनी दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको थियो । २०६२/०६३ को जनआन्दोलनमा पत्रकारिताको माध्यमबाट सक्रिय भूमिका निर्वाह गर्नुभएका चौहान पछिल्लो समय एबीसी टेलिभिजन र बुटवल टुडेमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार चौहानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण हालसम्म २५ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।

 

रोसन पुरी

महासचिव

No photo description available.

 

 डाउनलोड गर्नुहोस्