वरिष्ठ महिला रेडियोकर्मीकाे निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०७९।१२।१०

रेडियो नेपालमा पहिलो पटक समाचार वाचनमा संलग्न महिला रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

निमोनियाबाट पीडित ताम्राकारको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा चैत्र ९ गते बिहीबार राति १०ः१० बजे निधन भएको हो । उहाँका तीन छोरी हुनुहुन्छ । जसमध्ये एक छोरी ग्रिष्मा राजभण्डारी सञ्चारकर्मी हुनुहुन्छ । स्वर्गीय ताम्राकारको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

वि.सं. २०१८ साल जेठ २४ गते रेडियो नेपालको सेवामा प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनसँगै समाचार सम्पादकको रूपमा पनि काम गर्नुभएको थियो । समाचार वाचनसँगै उहाँले रेडियो नेपालमा नासो तथा वन र वातावरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेवापत सन् १९८९ मा उहाँलाई राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड प्रदान गरिएको थियो ।

पछिल्लो समय इमेज एफएम ९७.९ मा उज्यालो कार्यक्रम सञ्चालन गर्दै आएकी ताम्राकारलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७४ सालमा वरिष्ठ पत्रकार सम्मान गरेको थियो ।

उहाँको निधनले नेपाली पत्रकारिता जगत्ले एक परिपक्क, योग्य, अनुभवी महिला रेडियोकर्मी गुमाएको छ । रेडियो पत्रकारिता क्षेत्रमा उहाँले पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय ताम्राकारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रोसन पुरी

महासचिव