पत्रकारमाथि भएको दुर्व्यवहारकाे घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०४।२०

कर्णाली आवाज डटकमका प्रमुख समाचारदाता मोहन (मालबहादुर) सिंहलाई समाचार संकलनका क्रममा स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा कार्यरत नर्स गंगा रेग्मीले गालीगलौज गर्दै हातपातको प्रयास गरेको तथा पत्रकार सिंहले खिचेको फोटो प्रहरी लगाएर मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ जाजरकोट शाखाका अनुसार साउन १८ गते स्वास्थ्य सेवा कार्यालय जाजरकोटका सेवाग्राहीको गुनासो सुनेर समाचार संकलनका क्रममा अस्पताल पुगेर फोटो खिचिरहेको अवस्थामा पत्रकार सिंहलाई नर्स रेग्मीले गालीगलौज गर्दै हातपातको प्रयास गरेकी थिइन । सो क्रममा जिल्ला प्रहरी कार्यालय बोलाएर प्रहरीले समेत पत्रकार सिंहको क्यामेरा नियन्त्रणमा लिइ फोटो मेटाएको शाखाले जनाएको छ ।

स्वतन्त्रतापूर्वक पेशागत दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि स्वास्थ्यकर्मी र प्रहरीबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी छ । महासंघ प्रेसविरोधी घटना संलग्नमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

यसैगरी महासंघ हिमालय टेलिभिजन प्रतिष्ठान शाखाका सदस्य प्रिन्स मिश्रलाई प्रश्न सोधेको निहुँमा केही अराजक समुहले कुटपिट गरी घाइते बनाएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको छ । पशुपतिमा सञ्चालित कोटिहोममा वाचिका देवी प्रतिभालाई प्रश्न गरेको वहानामा पत्रकार मिश्रमाथि निर्घात कुटपिट गरिएको शाखाले जनाएको छ । महासंघ पत्रकार मिश्रलाई कुटपिट गर्ने समुहको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्