नेपाल पत्रकार महासंघकाे जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला असोज १९ गते गर्ने निर्णय

 

मिति : २०८१।०६।०९

नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनपछि उत्पन्न विशेष परिस्थितिबारे यहाँहरूलाई अवगत नै छ । २०८१ जेठ २६ गते, असार २२ र असोज ५ गते घोषणा गरिएका तीनवटा निर्वाचन तोकिएको मितिमा हुन नसक्ने दुःखद् परिस्थितिको सिर्जना भयो । यो विषम परिस्थितिमा महासंघका अध्यक्ष विपुल पोखे्रलले २०८१ भदौ २४ गते पदबाट राजीनामा दिनुभयो । वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएपछि २०८१ असोज १२ गतेका लागि निर्वाचन मिति घोषणा गरिएको थियो । यसैबीचमा कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि अकस्मात राजीनामा दिएपछि झनै जटिल मोडमा आइपुगेका छौं । असोज १२ गते तोकिएको निर्वाचन पनि हुन नसक्ने परिस्थिति सिर्जना भएको छ ।

मतदाता नामावलीसम्बन्धी विवाद र मतभेदकै बीचमा महासंघका ५३ शाखाका अध्यक्षहरूले विवाद निरुपणका लागि राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र पनि बुझाएका छन् । यही सन्दर्भमा २०८१ असोज ९ गते केन्द्रीय समिति, प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

परामर्श भेलापछि कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले जिल्ला/प्रदेश अध्यक्षहरूको सल्लाह/सुझाव परामर्शलाई समेत दृष्टिगत गरी नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) को धारा ३५ को उपधारा ७ अनुसार यही असोज १९ गतेका दिन जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । भेलाको स्थान यथाशीघ्र जानकारी गराइनेछ ।

त्यस्तै सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७ औँ महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रीय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्न महासघका पूर्वसभापति डा. सुरेश आचार्यको संयोजकत्वमा पूर्वसभापतिद्वय तारानाथ दाहाल, विष्णु निष्ठुरी तथा पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

बैठकले अध्यक्ष विपुल पोख्रेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले दिनुभएको राजीनामालाई अनुमोदन गर्दै उहाँहरूले महासंघमा दिनुभएको अमूल्य योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

रोसन पुरी

महासचिव

May be an image of text