नेपाल पत्रकार महासंघका पूर्वउपसभापति तथा वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको ७० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध

 

मिति : २०८१।०६।१३

नेपाल पत्रकार महासंघका पूर्वउपसभापति तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको ७० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । लामो समयदेखि मधुमेह र दुई वर्षदेखि मिर्गौलाको समस्याबाट पीडित कार्कीको असोज १२ गते शनिबार पाल्पाको तानसेन धुवाघाटस्थित निवासमा निधन भएको हो । गत साउनमा लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएपछि कार्की मिर्गौला प्रत्यारोपणको तयारीमा हुनुहुन्थ्यो ।

पत्रकार कार्कीले वि. संं. २०४९ चैत्रदेखि २०५२ जेठसम्म नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापतिको भूमिका निर्वाह गर्नुभएको थियो । महासंघको जिल्ला र केन्द्रीय तहको नेतृत्व तथा विभिन्न समितिमा रहेर उल्लेख्य योगदान दिएका पत्रकार कार्कीलाई वि. सं. २०६८ सालमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मान गरेको थियो ।

वि. सं. २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका कार्की बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो । जमर्को, झिल्को र देशान्तर साप्ताहिकलगातमा काम गर्नुभएका कार्कीेले २०४५ सालबाट दैनिक लुम्बिनी सुरु गर्नुभएको थियो । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा अग्रगामी भूमिका निर्वाह गरेका कार्कीले पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै २०३६ साल र २०४५ सालमा जेल जीवन बिताउनु भएको थियो । स्वर्गीय कार्कीका हाल एक श्रीमती दुई छोरी र एक छोरा हुनुहुन्छ ।

खासगरी रुपन्देहीको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका वरिष्ठ पत्रकार कार्कीको निधनले नेपाली पत्रकारिता जगतले एक जना अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाउनुका साथै महासंघ रुपन्देही शाखाले एक सक्रिय अभिभावक गुमाएको छ ।

महासंघ स्वर्गीय कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

May be an image of text