महासंघलाई जीवन्त राख्नकै लागि सामूहिक प्रयासमा योगदान गर्न सम्बद्ध सम्पूर्णमा हार्दिक अपिल

 

मिति :२०८१।०६।१६

नेपाल पत्रकार महासंघ साझा संस्थाको विशिष्ट चरित्र बोकेको व्यावसायिक तथा श्रमजीवी नेपाली पत्रकारहरूको छाता संस्था हो। समयमा निर्वाचन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बेलामा नेतृत्वपंक्तिबाट सिलसिलेवार राजीनामा दिनुले अन्योलता सिर्जना भएको छ । महासंघले गत जेठ २६ गते, असार २२ र असोज ५ गते तीन-तीनपटक निर्वाचनको मिति घोषणा गरिए पनि तोकिएको मितिमा निर्वाचन हुन नसक्ने दुःखद् परिस्थितिको सिर्जना हुनु चिन्ताको विषय हो । यो विषम परिस्थितिमा महासंघका अध्यक्ष विपुल पोखे्रलले यही भाद्र २४ गते पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । कार्यवाहक अध्यक्षको नेतृत्वमा असोज १२ गते मतदान गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरियो तर निर्वाचन सम्पन्न नहुँदै कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि अकस्मात राजीनामा दिएपछि एउटा नयाँ परिस्थितिको सिर्जना हुन पुगेको छ ।

सदस्यता वितरण प्रक्रिया पेचिलो बनेपछि नेपाल पत्रकार महासंघका ५३ शाखाका अध्यक्षहरूले राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाउनु, कतिपय शाखाहरूमा सदस्यता विवादलाई लिएर ताला नखुल्नु, निर्वाचनका लागि गठन हुनुपर्ने शाखा र प्रदेश समितिका निर्वाचन समिति नबन्नु जस्ता अवस्थाले महासंघको निर्वाचन मार्फत नेतृत्व हस्तान्तरणमा थप जटिलता र चुनौती थपिदिएको छ ।

जतिसुकै विषम परिस्थिति भए पनि निष्क्रिय हुने, मूक दर्शक भएर बस्ने र सदा अन्योलमा नै रहने छुट हामीलाई छैन । कुनै हालतमा किंकर्तव्यबिमूढ यो अवस्थाबाट मुक्त भएर महासंघलाई विधानसम्मत मार्गमा लागि निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्ने काम नै अहिलेको पहिलो प्राथमिकता हो । हामीले विगतमा जे जति कमीकमजोरी गरेका छौ, तिनबाट भविष्यका लागि पाठ सिक्दै महासंघलाई साझा संस्थाको रूपमा यसको स्वीकार्यता बढाउन जरुरी छ । यस्का लागि जहाँ जसबाट जे जस्ता कमीकमजोरी भएका छन् महासंघको संरचनादेखि महासंघको संरचनागत कामहरूमा महत्वपूणर् सरोकार राख्ने सबैबाट कमीकमजोरी सच्याएर सहमतिको मार्ग अवलम्बन गर्दा नै महासंघको साख बढ्ने कुरामा मेरो विश्वास छ । यसका लागि एकपटक फेरी हामी सबैले शान्त दिमागले सोचेर सबैको भावनालाई समेट्दै महासंघको गरिमालाई बढाउन विधिसम्मत नेतृत्व हस्तान्तरणको लागि निर्वाचन गराउने वातावरण बनाउन जरुरी छ ।

उचित वातावरण निर्माण गर्न कार्यवाहक अध्यक्षको हैसियतमा मैले गर्नुपर्ने भूमिका निर्वाह गर्दै महासंघका आदरणीय पूर्वअध्यक्षज्युहरू, विभिन्न सरोकारवाला संस्थाका प्रमुखहरू, सरोकारवाला व्यक्तिहरू र महासंघकै संरचना भित्रका विभिन्न समितिहरूसँग संवादलाई अगाडि बढाएको छु । यही असोज ९ गते केन्द्रीय समिति, प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको भौतिक तथा भर्चुअल माध्यमबाट भेलाको आयोजना गरी छलफल तथा परामर्श गर्दा नयाँ नेतृत्व हस्तान्तरण गर्नका लागि सदस्यता विवाद नटुंगिकन अगाडि जान नसकिने सबैको ठहर छ । हालै देशमा व्याप्त प्राकृतिक प्रकोप, अविरल वर्षाका कारण देशले बेहोर्नुपरेको धनजनको क्षति, बाटोघाटो अवरुद्ध हुँदा आवत-जावतको कठिनाइ र नजिकिँदै गरेको चाडपर्वको माहौल यी यावत कुराहरूले गर्दा असोज १९ गते राष्ट्रिय भेला गर्न प्रतिकुल समय हुँदाहुँदै पनि महासंघको तीन वर्षे कार्यकाल सकिएको पहिलो ६ महिनामा चुनाव हुन नसकेकाले महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७५) को धारा ३५ को उपधारा ७ अनुसार महासंघप्रति उब्जिन सक्ने वैधानिकताका सवालसहित सबै कुरालाई दृष्टिगत गरी यही असोज १९ गतेका दिन जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला भक्तपुरमा गर्ने निणर्य गरिएको छ । सो भेलाले केन्द्रीय समितिका कामको समीक्षासहित एउटा विधिलाई टेकेर सदस्यता विवादलाई निरूपण गर्दै निर्वाचनको मिति तोकेर निर्वाचनको वातवरण बनाउने छ भन्ने कुरामा म सम्पूणर् पत्रकार साथीहरूलाई आश्वस्त बनाउन चाहन्छु । महासंघको नयाँ नेतृत्व चयनका लागि देखिएका चुनौती र सङ्कटपूणर् अवस्थामा अन्य समस्या र तमाम मतभेदहरूलाई थाती राखेर यो महत्वपूणर् दायित्व पूरा गर्नका लागि एउटै लक्ष्यका साथ अघि बढ्न महासंघका पूर्वअध्यक्षज्युहरू तथा पदाधिकारी/सदस्यज्यूहरू, सम्बद्ध सरोकारवाला संस्थाका प्रमुखहरू, सरोकारवाला व्यक्तिहरू र महासंघकै संरचना भित्रका विभिन्न समितिहरू ,केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एसोसिएट संस्थाहरू, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीहरूमा हार्दिकताका साथ अपिल गर्दछु ।

महासंघले अनेकौँ कठिन क्षणमा समेत आफूलाई सङ्गठित गर्दै सहमतिमा मार्ग प्रशस्त गरेको विगत छ । त्यस्तो ऐतिहासिक संस्था र ऐतिहासिक भूमिका निर्वाह गर्नुभएका अग्रज पत्रकारहरूको योगदानलाई हृदयमा अनुभूत गर्दै यो संस्थाको भविष्य सुरक्षित गर्नुपर्ने जिम्मेवारी तपाईँ हामीमा रहेको अवस्था छ । प्रेस स्वतन्त्रता र मानव अधिकारका मूल्यहरू प्रतिस्थापन गर्न अग्रणी भूमिका खेल्ने महासंघलाई जीवन्त राख्नकै लागि यो सामूहिक प्रयासमा योगदान गर्न सम्बद्ध सम्पूणर्मा म पुनः हार्दिक अपिल गर्दछु ।

बाला अधिकारी

कार्यवाहक अध्यक्ष

 डाउनलोड गर्नुहोस्