समाचार संकलनका क्रममा उदयपुरमा पत्रकारमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०६।२४

समाचार संकलनका क्रममा उदयपुरबाट प्रकाशित पूर्णपुष्टि साप्ताहिक र पूर्णपुष्टि डटकम तथा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकारद्वय विक्रम राई र सुनिल राईमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ उदयपुर शाखाका अनुसार असोज २३ गते बुधबार उदपुरस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको चमेनागृहमा रहेको रौता स्प्रिङ वाटर प्रा.लि.बाट उत्पादित खानेपानीको शिलप्याक जारभित्र कुख्ुराको प्वाँखलगायत अखाद्य सामग्री भेटिएको थियो ।

सोही विषयमा समाचार संकलनका लागि उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको पानी उत्पादक कम्पनीमा पुगेर भिडियो खिच्ने क्रममा पत्रकारद्वयमाथि सञ्चालक पर्शुराम चौधरी र उनका परिवारजनले आक्रमण गरी पत्रकारको क्यामेरा तोडफोड र मोबाइल नियन्त्रणमा लिएको शाखाले जनाएको छ ।

जन स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने खानेपानीमा भेटिएको अखाद्य सामग्रीका बारे नागरिकलाई सुसूचित र सचेत गराउने कार्यमा जुटेका पत्रकारमाथि भएको हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसलाई निर्वाध र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, जन स्थास्थ्यसँग जोडिएको खानेपानीको विषयमा खेलबाड र लापर्बाही गर्ने कम्पनीको गुणस्तरको छानबिन गरी आवश्यक कारबाहीका लागि ध्यानाकर्षणसमेत गराउँदछ ।

रोसन पुरी

महासचिव

 

May be an image of text