मिति:२०८१।०९।१७
सिमाना न्यूज डटकमलाई न्यूज पोर्टल/च्यानलबाट समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेलधुराबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
महासंघ डडेलधुरा शाखाका अनुसार यही पुस १६ गते मंगलबार उक्त अनलाइनमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको विषयमा समाचार प्रकाशित भएको थियो । सोही समाचारलाई लिएर प्रमुख जिल्ला अधिकारी न्यौपानेले कार्यालयकै लेटरहेड प्रयोग गरी न्यूज पोर्टल/च्यानलबाट समाचार हटाउन पत्राचार गर्नुका साथै पत्रकारलाई धरपकड गर्ने मौखिक धम्कीसमेत दिएका छन् ।
प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रचलित प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारीजस्तो जिम्मेवार व्यक्तिबाट पदीय मर्यादाविपरीत गरिएको यो हर्कत अन्यन्त निन्दनीय छ, यो कदमलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको ज्यादतीका रूपमा लिएको छ ।
यस किसिमका हर्कतले संविधानप्रदत्त पत्रकारको अधिकारमाथि आघात पुग्नुका साथै लोकतान्त्रिक मूल्य मान्यताको समेत उपहास भएको महासंघको ठहर छ । महासंघ प्रेसविरोधी यो हर्कतको कडा शब्दमा भर्त्सना गर्दछ । सञ्चारमाध्यमको संवैधानिक अधिकारको ख्याल गर्न र यस्ता घटना नदोहोर्याउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।
रामप्रसाद दाहाल
महासचिव