महासंघ रौतहट शाखाका अध्यक्ष झामाथि दुर्व्यवहार गर्नेलाई कारबाहीकाे माग

मिति :२०७८।०९।२२

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले गरेको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ रौतहट शाखाका अनुसार एक पत्रिकाको अनलाइन दर्ता सम्बन्धमा पुस २१ गते बुधबार जिल्ला प्रशासन कार्यालय रौतहट पुगेका अध्यक्ष झालाई प्रमुख जिल्ला अधिकारीको अगाडि नै उहाँकै कार्यकक्षमा निज प्रशासकीय अधिकृत तिमल्सेनाले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए ।

प्रमुख जिल्ला अधिकारीकै अगाडि अध्यक्ष झामाथि यस किसिमले दुर्व्यवहार हुनु अत्यन्त दुःखद् र निन्दनीय छ । यो घटनाले पत्रकारको संवैधानिक मर्यादा र स्वतन्त्रतामा आघात पुगेको महासंघको ठहर छ । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक मर्यादा र अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

यसैबीच महासंघ धनुषा शाखाका सदस्य सुरेशकुमार यादवको धनुषाको चारनाथ नगरपालिका–५ स्थित घरमा बुधबार राति अज्ञात समुहले आगजनी गरेकोमा महासंघ दुःख प्रकट गर्दछ । घटनाको छानबिन गरी यस किसिमको जघन्य कार्यमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र आगजनीबाट भएको क्षतिको यकिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 Download