पत्रकार पाल्पालीको निधन खबरले महासंघ स्तब्ध

मिति : २०७८।११।१८

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य विजयकुमार पोखरेल (बिके पाल्पाली) को ४६ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । मिर्गौलाको समस्याका कारण विगत लामो समयदेखि बिरामी पाल्पालीको फागुन १७ गते मंगलबार राति भक्तपुरस्थित निवासमा निधन भएको हो । मिर्गौलामा समस्या आएपछि केही वर्षदेखि उहाँको दुवै मिर्गौलाको डायलासिस हुँदै आएको थियो ।

वि.सं. २०३२ सालमा पाल्पामा जन्मनु भएका पाल्पाली लामो सयमदेखि काठमाडौंमा रही पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । नेपाली साहित्य क्षेत्रमा हाइकु, कथा, कविता र गीत लेखनबाट पाल्पाली परिचित हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मेहनती, जुझारु र अनुभवी पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

स्वर्गीय पाल्पालीका श्रीमती, एक छोरा र एक छोरी छन् । पाल्पालीकी श्रीमती रेणुका भट्टराई पनि पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

महासंघ स्वर्गीय पत्रकार पाल्पालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

 Download