समाचार संप्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित पक्षलाई महासंघकाे ध्यानाकर्षण

मिति : २०७८।११। २२

कलाकार पल शाह हिरासतमा रहेको विषयलाई लिएर पछिल्लो समय विभिन्न सञ्चारमाध्यम र पत्रकारबाट संप्रेषित भइरहेका समाचार तथा सूचनाले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन हुन गएको पाइएकोले त्यसप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पत्रकार आचारसंहिता–२०७३ मा समाचार संप्रेषण गर्दा बालसंवेदनशीलता, व्यक्तिको गोपनीयतालाई ख्याल गर्नुपर्ने र पीडितलाई संरक्षण गर्नुपर्ने, पीडित र प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी समाचार तथा सूचना संप्रेषित गर्न नहुनेजस्ता व्यवस्था छन् ।

त्यस्तै यौन अपराधमा प्रभावित वा पीडित व्यक्तिलाई असर पार्न सक्ने सामग्री प्रकाशन, प्रसारण र वितरण गर्न नहुने तथा यस्तो अवस्थामा प्रभावित व्यक्तिको सचेत स्वीकृतिबिना र प्रभावको मूल्याङ्कन नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित वा निजका तर्फबाट उजुरी दिने व्यक्तिको समेत नाम, ठेगाना र पहिचान खुलाउनु नहुनेलगायतका व्यवस्था पनि आचारसंहिता–२०७३ मा छ ।

महासंघ समाचार संप्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न तथा कानुनले बर्जित गरेका विषय एवं पीडितको पहिचान गोप्य राख्नुपर्ने र बालबालिकासँग जोडिएका विषयहरूमा समाचार प्रकाशन, प्रसारण गर्दा पत्रकारिताको आधारभूत मूल्यमान्यता र सिद्धान्तप्रति गम्भीर बन्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 Download