पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

 

मिति : २०७९।०२।१८

नेपाल पत्रकार महासंघ पर्वत शाखाका कार्यसमिति सदस्य लक्ष्मणकुमार सुनारलाई समाचारको विषयलाई लिएर पर्वतको महाशिला गाउँपालिकाका तत्कालीन वडा अध्यक्ष रामबहादुर सुनारले गालीगलौज र धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

उक्त गाउँपालिका वडा नं. ६ अन्तर्गत वितरण भएको सामाजिक सुरक्षा भत्ताका विषयमा एभिन्यूज टेलिभिजनमा प्रसारण भएको सामग्रीलाई लिएर तत्कालीन वडा अध्यक्ष सुनारले पत्रकार लक्ष्मणकुमार सुनारलाई गालीगलौज र धम्कीसँगै मानसिक तथा सामाजिक रूपमा तनाव दिने काम जारी राखेका पर्वत शाखाले जनाएको छ ।

समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचार खोज्नु पर्नेमा पत्रकारमाथि यसप्रकारले प्रस्तुत हुनु निन्दनीय र प्रेसविरोधी काम हो । महासंघ प्रेसविरोधी यस्ता घटना नियन्त्रणमा गम्भीर भई पत्रकारलाई निर्वाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव