पत्रकारलाई भौतिक कारबाहीको धम्की दिएको र अपमानित हुनेगरी लाञ्छना लगाएको घटनाको महासंघद्वारा विरोध

मितिः २०७९/०५/२१

नेपाल पत्रकार महासंघ कालिकोट शाखाका पूर्वअध्यक्ष कालिबहादुर मल्ललाई समाचारको विषयलाई लिएर नेकपा एमाले कालिकोटका कार्यालय सचिव दानबहादुर शाहीले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पत्रकार मल्ल कार्यरत नेपाल समाचारपत्र दैनिक र इन्सेक अनलाइनमा निज शाहीको समाचार प्रकाशित भएपछि २०७९ भदौ १९ गते शाहीले पत्रकार मल्ललाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरी घाँटी छिनाली मार्ने धम्की दिएको महासंघ कर्णाली प्रदेश समितिले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै एउटा जिम्मेवार पार्टीका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई मार्ने धम्की दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।

प्रेसविरोधी यस्ता कार्यमा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई सुरक्षित र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दै महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र यस किसिमका घटना नदोहोरिने वातावरण बनाउन सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउँदछ ।

यसैगरी महासंघ झापा शाखाका सदस्य एवं ग्यालेक्सी 4K टेलिभिजन प्रदेश १ का व्यूरो प्रमुख राजु पौडेल र झापा सदस्य एवं 4K टेलिभिजनका सम्वाददाता नारायण अर्याललाई झापास्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले विभिन्न समयमा विभिन्न सञ्चारमाध्यम र युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा पत्रकारद्वयलाई अपमानित हुने किसिमले विभिन्न लाञ्छना लगाउँदै गालीगलौज गरेको भनी महासंघमा जानकारी प्राप्त भएको छ ।

कुनै पनि बहानामा पत्रकारलाई अपमानित हुने कार्य हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ अस्पतालजस्तो संवेदनशील निकायका सञ्चालकबाट यस किसिमका कार्य हुनु दुःखद् र निन्दनीय काम हो । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

 

रोसन पुरी

महासचिव

 Download