समाचार संकलनका क्रममा संघीय संसदबाट सञ्चारमाध्यम र सञ्चारकर्मी लक्षित घटना भइरहेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७९।१०।१९

समाचार संकलनका क्रममा संघीय संसदबाट सञ्चारमाध्यम र सञ्चारकर्मी लक्षित घटना भइरहेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

माघ १८ गते बुधबार समाचार संकलनका लागि संघीय संसद पुगेका सञ्चारकर्मी र सञ्चारमाध्यममाथि त्यहाँ तैनाथ सुरक्षाकर्मीले महिला सञ्चारकर्मीलाई पुरुष शौचालयमा जान भनेर गैरजिम्मेवार व्यवहार देखाएका थिए । यसअघि पनि सचिवालयका सुरक्षाकर्मीबाट समाचार संकलनका क्रममा सञ्चारकर्मीलाई अवरोध खडा गर्ने, अनावश्यक केरकार गर्नेजस्ता गतिविधि भैरहेको थियो ।

संघीय संसद सचिवालयबाट जारी परिचयपत्र देखाएर सञ्चारकर्ममा खटेका पत्रकारमाथि भैरहेको यस किसिमको हर्कतको संघीय संसदका पदाधिकारी तथा सचिवालय नेतृत्वलाई पटकपटक जानकारी गराउँदा पनि यसप्रति गम्भीर नहुनु अत्यन्त दुःखद् पक्ष र गैरजिम्मेवारपन हो । यस घटनाले प्रेसलाई हेर्ने संघीय संसदको नियतमाथि नै प्रश्न खडा भएको महासंघको ठहर छ ।

महासंघ संसदीय मूल्यमान्यता र विधिको शासनको उच्चतम अभ्यास हुने जनप्रतिनिधिमूलक संस्थाबाट भैरहेको यस्ता क्रियाकलाप तत्काल रोकी संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको ख्याल गर्न र निर्वाध तथा स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 Download