२०७९ फागुन २९ गते बसेकाे नेपाल पत्रकार महासंघकाे उपलब्ध केन्द्रीय समितिको बैठकका निर्णयहरू

मिति :२०७९।११।२९

नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको बैठक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज मिति २०७९ फागुन २९ गते केन्द्रीय कार्यालयमा बस्यो । बैठकले श्रमजीवी पत्रकारका समस्या, महासंघको स्थापना दिवसलगायत बारेमा छलफल गरी निम्न निर्णयहरू गरेको छ ।

बैठकका निर्णय यस प्रकार रहेको छ–

१. बैठकले हाल विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रमजीवी पत्रकारका समस्याका विषयलाई गम्भीर रूपमा लिई त्यसको समाधानका लागि कानुनी तथा दबाबमूलक संघर्षको कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको छ । साथै, तत्काल पत्रकारको न्यूनतम पारिश्रमिक समयसापेक्ष दृद्धि गर्न सरकारसँग माग गर्दछ ।

२. हाल सञ्चारसम्बन्धी विभिन्न कानुनहरू निर्माण हुने क्रममा रहेकोप्रति बैठकले गम्भीर चासो लिई उक्त कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

३. सर्वोच्च अदालतले अधिकार सम्पन्न छुट्टै प्रेस रजिष्ट्रार नियुक्ति गर्न आदेश दिइसकेको सन्दर्भमा बैठकले तत्काल छुट्टै प्रेस रजिष्ट्रारको कार्यालय गठन गरी प्रेस रजिष्ट्रार नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

४. साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरू धरासायी हुँदै गएको सन्दर्भमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई तत्काल लागू गर्न बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।

५. बैठकले आगामी चैत्र १६ गते महासंघको ६८औं स्थापना दिवसलाई ‘विश्व शान्तिको मुहान’ लुम्बिनीमा विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । साथै, बैठकले उक्त दिन प्रदेश समिति र जिल्ला शाखामा पनि अनुकूलताअनुसार विभिन्न रचनात्मक तथा अतिरिक्त क्रियाकलापको आयोजना गरी स्थापना दिवस मनाउन आग्रह गरेको छ ।

६. महासंघको सदस्यता शुद्धीकरण, सञ्चार क्षेत्रको सबलीकरणका लागि चैत्र १७ लुम्बिनीमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ गर्ने निर्ण बैठकले गरको छ । सम्मेलनमा सञ्चार क्षेत्रका विज्ञ, अर्थविद, मिडियाको समग्र अनुसन्धानको क्षेत्रमा क्रियाशील, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष/महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुनेछन् ।

रोसन पुरी

महासचिव

 Download