नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष इश्वर विश्वकर्मामाथि कार्यालय परिसरमै भौतिक आक्रमणको प्रयास भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०८०/०३/१०

नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष इश्वर विश्वकर्मामाथि राजधानी दैनिकको कार्यालय परिसरमै भौतिक आक्रमणको प्रयास भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

असार ८ गते शुक्रबार राजधानी दैनिकको कार्यालयमा भएको पूजा कार्यक्रममा सञ्चालक मध्येका एक आशिष शेरचनको अगुवाईमा अध्यक्ष विश्वकर्मामाथि विभेदपूर्ण व्यवहार गर्दै कोठाभित्र थुनेर सटर र मुल ढोकाको चाबी लगाई बन्धक बनाएर भौतिक आक्रमणको प्रयास गरिएको राजधानी प्रतिष्ठान शाखाले जनाएको छ ।

सो क्रममा राजधानी दैनिकमा कार्यरत रहेका महासंघ उपत्यका प्रदेश समितिका महासचिव टेनिस रोका, काठमाडौं शाखाका सचिव महेश्वर गौतम र पत्रकार निराजन पौड्याललाईसमेत धम्की दिइएको प्रतिष्ठानले जनाएको छ ।

महासंघ राजधानी दैनिकका सञ्चालकको अगुवाईमा भएको यो घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

हाल व्यवस्थापन पक्षकै कारण बन्द रहेको राजधानी दैनिकको सञ्चालकबाट भएको यो हर्कतले पत्रिकामा कार्यरत पत्रकार तथा कर्मचारीलाई सेवा सुविधा नै नदिई जबरजस्ती हटाउने उद्देश्य रहेको स्पष्ट छ ।

साथै, बन्द अवस्थामा रहेको पत्रिका सुचारु गरी पत्रकार तथा कर्मचारीको अधिकारको सुनिश्चतता गर्न तथा श्रमजीवी ऐनअनुसार अगाडि बढ्न तथा त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीको सुरक्षामासमेत ध्यान दिन माग गर्दछ ।

............

रोसन पुरी

महासचिव

May be an image of text