समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०७।०६

राष्ट्रिय समाचार समिति र कखरा अनलाइनमा कार्यरत पत्रकार बलेन्द्र ओलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सहभागी भएको कार्यक्रमको समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

२०८१ कात्तिक ६ गते कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रुकुम पश्चिमको सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रदेश मुख्यमन्त्री कँडेलले समाचार संकलनका लागि पुगेका पत्रकार ओलीलाई भिडियो नखिच्नु, बाहिर निस्कनु भन्दै दुर्व्यवहार गरेको महासंघ रुकुम शाखाले जनाएको छ ।

सार्वजनिक निकायको गरिमामय पदमा बहाल मुख्यमन्त्रीबाट पत्रकारमाथि यस किसिमको व्यवहार हुनु आफैंमा निन्दनीय र लज्जास्पद हर्कत हो । यो घटना संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारमाथिको ज्यादती हो । महासंघ पत्रकारको संवैधानिक सुनिश्चितताको सम्मान गर्न र निर्वाध रुपमा सञ्चारकर्ममा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 Download