मिति : २०८१।१०।१०
नेपाल पत्रकार महासंघको राष्ट्रिय परिषद् सदस्य तथा हिमालखबर डटकमका संवाददाता गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिइएकोमा महासंघको ध्यानाकर्षण भएको छ ।
हिमालखबरमा ए.एम.एस म्युजिक एन्ड इन्टरटेन्मेन्ट प्रालिको विषयमा प्रकाशित समाचारलाई लिएर कम्पनीका अध्यक्ष सत्यकला तामाङ लामाले पत्रकार दाहाललाई माघ ९ गते बुधबार टेलिफोनबाट गालीगलौज गर्दै भौतिक आक्रमण गर्ने धम्की दिएको हिमाल मिडिया प्रतिष्ठान शाखाले महासंघ केन्द्रीय समितिलाई जानकारी गराएको छ ।
समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने विकल्पलाई बेवास्ता गर्दै पत्रकारलाई आक्रमणको ठाडो चुनौती दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराध हो ।
महासंघ यस्तो कार्यमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र निर्भीकतापूर्वक काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रामप्रसाद दाहाल
महासचिव