मिति : २०८१।१२।०७
समाचारको विषयलाई लिएर पत्रकार प्रकाश मिश्रलाई होटेल सञ्चालकद्वय डबलबहादर शाह र चेतबहादुर सिंहले आक्रमण गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
महासंघ कैलाली शाखाका अनुसार धनगढीको अनुमोदन दैनिकमा चैत्र ४ गते सोमबार ‘कैलालीको सिमली जंगलमा विदेशी नागरिकको रहस्यमय जमघट’ शीर्षकमा पत्रकार मिश्रको बाइलाइन समाचार प्रकाशित भएको थियो ।
सोही समाचारको विषयमा घोडाघोडीस्थित ओजुवा क्याफेका सञ्चालक शाह र पहलमानपुरमा रहेको सिर्जना होटेलका सञ्चालक सिंहले पत्रकार मिश्रमाथि आक्रमण गरेको शाखाले जनाएको छ ।
समाचारमा चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्न सकिने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने प्रचलित अभ्यासविपरीत पत्रकारमाथि यस प्रकारले आक्रमणमा उत्रिनु अन्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।
महासंघ पत्रकारमाथि हुने यस्ता आक्रमणको कडा भर्त्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई स्वतन्त्र र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव