प्रकाशित समाचारलाई लिएर पत्रकार विस्नप्रसाद न्यौपानेमाथि धम्की तथा सामाजिक सञ्जालमार्फत गालीगलौज गरेर मानसिक यातना दिने काम भइरहेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मितिः २०८१।१२।१३

अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचारलाई लिएर पत्रकार विस्नप्रसाद न्यौपानेमाथि धम्की तथा सामाजिक सञ्जालमार्फत गालीगलौज गरेर मानसिक यातना दिने काम भइरहेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

महासंघ कर्णाली प्रदेश समितिका अनुसार चैत्र १२ गते ‘विदेशी सहयोगको चरम दुरुपयोगः सामाजिक संस्थाका नाममा आफन्त र परिवारको रजगज’ शीर्षकमा सुर्खेतको कोपिला भ्याली सेवा समाजको बेथितिका विषयमा समाचार प्रकाशित भएको थियो ।

सोही समाचारलाई लिएर महासंघ कर्णाली प्रदेश समितिका सचिवसमेत रहेका पत्रकार न्यौपानेलाई संस्थाका प्रवन्ध निर्देशक टोपबहादुर मल्लका आफन्त प्रकाश सिंह, लोकजंग सिंह ठकुरीलगायले सामाजिक सञ्जालमार्फत धम्क्याउने, अपशब्द प्रयोग गर्ने, भौतिक कारबाहीको धम्की दिनेजस्ता हर्कत गरी मानसिक यातना दिने काम भएको प्रदेश समितिले जनाएको छ ।

समाचारमा कुनै गुनासो भए या चित्त नबुझे त्यसउपर कानुनी वा विधिसम्वत उपचार खोज्न सकिने प्रचलित अभ्यास छ । यसलाई बेवास्ता गर्दै पत्रकारलाई यसप्रकारले धम्क्याउने र अनर्गल गालीगलौज गरेर मानसिक यातना दिने यो हर्कतलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको हमला र गम्भीर अपराधको रुपमा लिएको छ ।

प्रेस स्वतन्त्रतालाई ठाडो चुनौती दिने र पत्रकारलाई हतोत्साहित बनाउने यो क्रियाकलापको महासंघ भर्त्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन, पत्रकारलाई सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download