मिति : २०८२।०१।०७
पर्साको स्थानीय प्रशासनले समाचार सामग्री प्रसारणमा रोक लगाउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
महासंघका केन्द्रीय सचिव अशोक तिवारी सञ्चालक रहेका ‘ए न्यूज’ मा मिति २०८२ वैशाख ६ गते साँझ ६ बजे प्रसारणको तयारीमा रहेको सामग्री पुनर्विचार गर्न भन्दै स्थानीय प्रशासनले अनाधिकृत तबरबाट दबाब दिएको पर्सा शाखाले जनाएको छ । समाचारको विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र पर्नेतर्फ महासंघ सचेत गराउँछ ।
कुनै पनि बहानामा सञ्चारमाध्यममा प्रसारण हुने समाचार रोक्न दबाब दिनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता र संविधानविपरीतको कार्य हो । यसबाट संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारलाई समेत कुण्ठित गरेको महासंघको ठहर छ ।
महासंघ लोकत्रन्त्र र प्रेस स्वतन्त्रताविरोधी यस्ता गतिबिधि नगर्न/नगराउन तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।
यसैगरी महासंघ पर्सा शाखाका सदस्य सुरेश बिडारीले लेखेको समाचारलाई लिएर सामाजिक सञ्जालमार्फत गालीगलौज गरिएकोमा महासंघ भत्र्सना गर्दछ । समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जानुपर्नेमा यस प्रकारले पत्रकार धम्क्याउने कार्यले व्यक्तिको सामाजिक प्रतिष्ठा र सद्भावमा आघात पुग्ने ठहर गर्दै यस्ता कार्यमा संलग्नलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग माग गर्दछ ।
...................
रामप्रसाद दाहाल
महासचिव