मिति : २०८२।०१।०८
अन्नपूर्ण मिडिया नेटवर्क (एपीवान टिभी) मा कार्यरत पत्रकार राधेश्याम विश्वकर्मालाई एक समुहले दुर्व्यवहार गर्दै खिँचिएको भिडियो र फोटो मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
आज वैशाख ८ गते मायादेवी गाउँपालिका ६ मकरीमा मन्त्री सहभागी हुने कार्यक्रमको समाचार संकलनका क्रममा भैरहवा–मर्चवार सडकमा सामान ल्याउदै गरेको फोटो खिँचेपछि पत्रकार विश्वकर्मालाई आफूलाई दिपेश यादव बताउनेसहितको समुहले यस्तो हर्कत गरेको महासंघ रुपन्देही शाखाले जनाएको छ ।
शाखाका सदस्यसमेत रहेका विश्वकर्मालाई घेरा हालिरहँदा प्रहरी मुखदर्शक भएर बस्नु अत्यन्त दुःखद पक्ष हो । महासंघ प्रहरीको यो हर्कतको भत्र्सना गर्दछ ।
नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा खटिएका पत्रकारमाथि भएको यो आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई त्रसित र असुरक्षित बनाउने यो घटनामा संलग्नलाई तत्काल कानुनी दायरा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन तथा क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव